काठमाडौं।नेपालले लामो समयदेखि माग गर्दै आएको नयाँ अन्तर्राष्ट्रिय हवाई प्रवेशमार्ग (एयर रुट) उपलब्ध गराउने विषयमा भारत सकारात्मक देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा यस विषयमा महत्त्वपूर्ण सहमति जुट्ने सम्भावना बढेको छ।
झण्डै डेढ दशकदेखि कूटनीतिक तथा प्राविधिक तहमा छलफल हुँदै आए पनि निष्कर्षमा पुग्न नसकेको हवाई रुटको मुद्दा यसपटक प्रधानमन्त्री शाहको भ्रमणमा प्राथमिकताका साथ उठाइएको छ। पछिल्लो द्विपक्षीय छलफलमा भारतले महेन्द्रनगरबाट ३९ हजार फिट उचाइमा विमानलाई नेपाल प्रवेश गर्न दिने विषयमा सकारात्मक सङ्केत दिएको नेपाली अधिकारीहरूले बताएका छन्।
त्यसैगरी, भैरहवा र जनकपुरबाट समेत कम उचाइमा अन्तर्राष्ट्रिय विमान प्रवेश गराउन सकिने गरी हवाई मार्ग उपलब्ध गराउने विषयमा भारतीय पक्ष सकारात्मक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव जयनारायण आचार्यका अनुसार हवाई प्रवेश बिन्दुका विषयमा दुवै देशबीच प्याकेजमै छलफल भइरहेको छ। भारतले सबै प्रस्तावलाई एउटै समझदारीमा समेट्न चाहेको छ भने नेपालले तत्काल सम्भव हुने तीनवटा प्रवेश मार्ग सञ्चालनमा ल्याएर बाँकी विषयलाई क्रमशः टुङ्ग्याउनुपर्ने प्रस्ताव गरेको छ।
आचार्यका अनुसार महेन्द्रनगरबाट हवाई प्रवेशको व्यवस्था मिलाउने र भैरहवा तथा जनकपुरका लागि कम उचाइको मार्ग उपलब्ध गराउने विषयमा भारतीय पक्षको सकारात्मक धारणा आएको छ। यद्यपि, कुन मार्गबाट कस्तो उचाइमा विमान प्रवेश गर्न पाउने भन्ने विषयमा अन्तिम सहमति भइसकेको छैन।
महेन्द्रनगर रुटले सिमरामाथिको निर्भरता घटाउने अपेक्षा
नेपालले नयाँ हवाई प्रवेशमार्गको माग गर्नुको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय उडानका लागि हाल प्रयोग हुँदै आएको सिमरा प्रवेश बिन्दुको निर्भरता कम गर्नु हो।
अहिले नेपाल प्रवेश गर्ने अधिकांश अन्तर्राष्ट्रिय उडानले सिमरा क्षेत्रको हवाई प्रवेश बिन्दु प्रयोग गर्नुपर्ने अवस्था छ। महेन्द्रनगरबाट समेत प्रवेश मार्ग उपलब्ध भएमा पश्चिमतर्फबाट नेपाल आउने विमानले छोटो तथा वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने सम्भावना रहनेछ।
यसले पश्चिमी क्षेत्रका विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहज बनाउनुका साथै उडान व्यवस्थापनमा समेत सुधार ल्याउन सक्ने अपेक्षा गरिएको छ।
तर, प्रस्तावित मार्गको वास्तविक सञ्चालनका लागि उडानको दिशा, विमानको प्रकार, उचाइ, हवाई ट्राफिक व्यवस्थापन र सुरक्षासम्बन्धी प्राविधिक पक्ष टुङ्ग्याउनुपर्ने हुन्छ।
भैरहवा र जनकपुरलाई पनि प्राथमिकता
महेन्द्रनगरसँगै भैरहवा र जनकपुरबाट अन्तर्राष्ट्रिय हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयलाई नेपालले प्राथमिकतामा राखेको छ।
विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान विस्तार गर्न भारतीय हवाई क्षेत्रसँग जोडिने सहज प्रवेश तथा बहिर्गमन मार्ग आवश्यक मानिएको छ। भारतीय हवाई मार्गको सहज पहुँच नहुँदा भैरहवा विमानस्थलको व्यावसायिक सञ्चालन विस्तारमा चुनौती देखिँदै आएको छ।
जनकपुरबाट समेत अन्तर्राष्ट्रिय उडानका लागि उपयुक्त हवाई मार्ग उपलब्ध भएमा क्षेत्रीय हवाई सम्पर्क विस्तार गर्न सकिने सरकारी अपेक्षा छ।
ठूलो लगानीमा निर्माण भएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडान विस्तार गर्न नसकिरहेको अवस्थामा थप हवाई मार्ग उपलब्ध हुनुले यी विमानस्थलको व्यावसायिक सम्भावना बढाउन सक्ने देखिन्छ।
सहज हवाई प्रवेश र बहिर्गमनको व्यवस्था भएमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नेपालका विभिन्न विमानस्थलमा उडान सञ्चालन गर्न सहज हुनेछ। यसबाट पर्यटन, व्यापार तथा क्षेत्रीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
साढे एक दशकदेखि छलफल, अझै कार्यान्वयन हुन सकेन
नेपालले नयाँ हवाई प्रवेशमार्गको विषय भारतसँग लामो समयदेखि उठाउँदै आएको छ। विसं २०७१ साउन १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका क्रममा पश्चिमतर्फबाट थप हवाई मार्ग उपलब्ध गराउने विषयमा सहमति भएको थियो।
त्यसबेला दुवै देशका अधिकारीलाई छ महिनाभित्र आवश्यक प्रक्रिया टुङ्ग्याउन भनिएको थियो। तर, त्यसयता विभिन्न उच्चस्तरीय भ्रमण तथा द्विपक्षीय बैठकमा यो विषय दोहोरिँदै आए पनि ठोस कार्यान्वयन हुन सकेको छैन।
विसं २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा पनि हवाई रुटको विषय प्रमुख एजेन्डामा परेको थियो। त्यसबेला भारतीय प्रधानमन्त्री मोदीले थप हवाई मार्ग उपलब्ध गराउने विषयमा भारत सकारात्मक रहेको बताएका थिए।
तर, प्राविधिक र प्रक्रियागत विषयमा सहमति जुट्न नसक्दा नेपालले अहिलेसम्म नयाँ प्रवेश बिन्दु प्राप्त गर्न सकेको छैन।
प्रधानमन्त्रीको भ्रमणअघि कूटनीतिक पहल तीव्र
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई लक्षित गर्दै नेपालले हवाई रुटको विषयमा कूटनीतिक तथा प्राविधिक छलफललाई तीव्र बनाएको थियो।
यसैक्रममा पर्यटनमन्त्री खडकराज पौडेल भारत पुगेर भारतीय अधिकारी तथा सरोकारवालासँग हवाई मार्ग विस्तार र पर्यटन सहकार्यबारे छलफल गरेका थिए।
नयाँदिल्लीमा आयोजित साङ्घाई सहयोग सङ्गठन (एससीओ) को ‘सिभिलाइजेशन डाइलग फोरम’मा सहभागी हुने क्रममा मन्त्री पौडेलले थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ उठाएका थिए।
त्यसअघि नेपाली प्रतिनिधिमण्डलले भारतीय नागरिक उड्डयन मन्त्रालयका अतिरिक्त सचिव पुनित कंशलसँग पनि छलफल गरेको थियो। उक्त प्रतिनिधिमण्डलमा पर्यटन मन्त्रालयका सहसचिव जयनारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोल सहभागी थिए।
लामो समयदेखि चर्चामा रहेर पनि कार्यान्वयन हुन नसकेको हवाई रुटको विषयमा पछिल्लो समय भारतीय पक्षबाट सकारात्मक सङ्केत आउन थालेपछि प्रधानमन्त्री शाहको भ्रमणलाई महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यसपटक द्विपक्षीय समझदारी बनेमा नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार र क्षेत्रीय विमानस्थलको सञ्चालनमा नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ।









Facebook Comments