
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल र वर्तमान सरकारप्रति कडा टिप्पणी गरेका छन्। उनले प्रतिनिधिसभा विघटनको घटनालाई असंवैधानिक भन्दै राष्ट्रपतिलाई ‘डरपोक’को संज्ञा दिएका छन्।
नेशनल भोलेन्टियर फोर्सको कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाए। उनका अनुसार सरकार गठनको सुरुवात नै हिंसा, आगजनी र तोडफोडको वातावरणबाट भएको हो।
ओलीले आफू प्रधानन्यायाधीशसमेत रहेको व्यक्तिबाट असंवैधानिक कदम चालिएको आरोप लगाउँदै प्रधानमन्त्री नियुक्तिको प्रक्रियामाथि प्रश्न उठाए।
‘प्रधानमन्त्रीको कुर्सीमा कसले राख्यो थाहा नपाइकन मनपरीतन्त्र चलाइयो। उहाँले पहिलो काम असंवैधानिक ढङ्गले संसद् विघटन गर्नुभयो,’ ओलीले भने।
उनले राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा साहस देखाउन नसकेको टिप्पणी गरे। लोकतन्त्रको रक्षा गर्ने नाममा संसद् विघटन गरिएको दाबीप्रति व्यङ्ग्य गर्दै ओलीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका हुन्।
‘राष्ट्रपतिले डरपोक भएर प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयो। बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो। असंवैधानिक ढङ्गले संसद् विघटन गरेर लोकतन्त्र जोगिन्छ र ?’ उनले प्रश्न गरे।
ओलीले प्रतिनिधिसभा विघटनको घटनामा सर्वोच्च अदालतको भूमिकाप्रति पनि असन्तुष्टि जनाए। उनका अनुसार संसद् विघटन असंवैधानिक भएको अवस्थामा पनि सर्वोच्च अदालतले प्रभावकारी भूमिका निर्वाह गर्न सकेन।
कार्यक्रममा ओलीले वर्तमान राजनीतिक घटनाक्रम र सरकार गठनको प्रक्रियालाई लिएर असन्तुष्टि व्यक्त गर्दै संवैधानिक व्यवस्था तथा लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएका थिए।
उनको अभिव्यक्तिले प्रतिनिधिसभा विघटन र त्यससँग जोडिएको संवैधानिक प्रक्रियालाई लिएर राजनीतिक दलहरूबीचको विवाद थप सतहमा ल्याएको छ।









Facebook Comments