काठमाडौं।नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भएको पार्टी एकताको अनुभवबाट पाठ सिक्दै फेरि कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्। उनले विशेषगरी नेकपा एमालेलाई विगतका कमजोरी सच्याएर पुनः एकताको पहल गर्न आग्रह गरेका छन्।

नेकपा काठमाडौं जिल्ला समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट आन्दोलन र वामपन्थी शक्तिको रक्षा गर्न एकता अपरिहार्य भएको बताए। विगतमा एमालेसँग भएको पार्टी एकताले देशभर कम्युनिस्ट कार्यकर्ता र समर्थकमा उत्साह पैदा गरेको स्मरण गर्दै उनले त्यस्तो राजनीतिक वातावरण पुनः निर्माण गर्नुपर्ने धारणा राखे।

ad

‘हिजोको असफलताबाट पाठ सिकेर फेरि एकपटक एकताको झण्डा उठाउनैपर्छ,’ प्रचण्डले भने, ‘अब समय फेरि आएको छ।’

उनका अनुसार भदौ २४ गतेको विध्वंसपछि विभिन्न वामपन्थी घटकसँग सघन छलफल गरेर कम्युनिस्ट एकताको अभियान अघि बढाइएको थियो। कात्तिक १९ गते १० वटा वामपन्थी घटकको आयोजनामा भएको राष्ट्रिय सम्मेलनबाट नेपाली कम्युनिस्ट पार्टी गठनको प्रक्रिया सुरु गरिएको उनले बताए।

एकताको अभियानमा सहभागी हुने राजनीतिक घटकको संख्या क्रमशः बढिरहेको उल्लेख गर्दै प्रचण्डले अहिलेसम्म २६–२७ वटा समूह तथा घटक यस प्रक्रियामा जोडिएको जानकारी दिए।

उनले विगतमा एमाले र माओवादीबीच भएको एकताले केन्द्रदेखि स्थानीय तहसम्म उत्साह र राजनीतिक उभार सिर्जना गरेको बताए। त्यतिबेला कार्यगत एकतालाई पार्टी एकतामा रूपान्तरण गर्ने उद्देश्यसहित अघि बढ्दा झन्डै दुई तिहाइ जनमत प्राप्त भएको उनको भनाइ थियो।

विगतको एकता टिक्न नसके पनि त्यसबाट प्राप्त अनुभवलाई कमजोरी सुधार्ने अवसरका रूपमा लिनुपर्ने प्रचण्डले बताए। कम्युनिस्ट शक्तिहरूबीच पुनः सहकार्य र एकताको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

प्रचण्डले मुलुक अहिले राजनीतिक तथा राष्ट्रिय संकटतर्फ धकेलिएको दाबी गर्दै कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास भइरहेको टिप्पणी गरे। प्रतिक्रान्तिकारी, साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूले कम्युनिस्ट आन्दोलनलाई रक्षात्मक अवस्थामा पुर्‍याउन खोजेको उनको आरोप थियो।

यस्तो परिस्थितिमा आपसी मतभेद र विगतका कमजोरीलाई व्यवस्थापन गर्दै वामपन्थी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो।

एमालेसँगको विगतको एकतालाई स्मरण गर्दै प्रचण्डले फेरि एकताको पहल गर्नुपर्ने सन्देश दिएका छन्। उनको अभिव्यक्तिलाई कम्युनिस्ट शक्तिहरूबीच सहकार्य र सम्भावित पुनःएकताको राजनीतिक प्रस्तावका रूपमा हेरिएको छ।