काठमाडौं।मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणको अनुसन्धान पूर्वमुख्यसचिव एकनारायण अर्यालसम्म पुगेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला अदालतले अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

पक्राउ पुर्जी जारी भए पनि अर्याल प्रहरीको सम्पर्कमा आइनसकेको र उनी फरार रहेको बताइएको छ। मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाइएको प्रकरणमा सीआईबीले अनुसन्धान अघि बढाएको हो। यसअघि नै यही प्रकरणमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका तत्कालीन उच्च अधिकारीहरू पक्राउ परिसकेका छन्।

ad

बुधबार पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन्।

त्यसअघि पनि प्रहरीले यस प्रकरणमा चार जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ का ४५ वर्षीय रामपुकार तिवारी रहेका छन्।

प्रहरीले मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीविपरीत श्रमिकसँग गैरकानुनी रूपमा रकम संकलन गरी विदेश पठाइएको विषयमा अनुसन्धान गरिरहेको छ।

अनुसन्धानका क्रममा गैरकानुनी रूपमा संकलित ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ मलेसिया पठाउने निर्णय भएको विषयसमेत जोडिएको छ।

यस प्रकरणमा ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पक्राउ पुर्जी जारी भएसँगै अनुसन्धानको दायरामा पूर्वमुख्यसचिव अर्यालसमेत परेका छन्।