
काठमाडौं।सरकारी कागजात लिन सम्बन्धित कार्यालय धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यसहित सञ्चालन गरिएको हुलाकको घरदैलो सेवा विस्तार हुँदै गएको छ। यस सेवामार्फत अहिलेसम्म एक हजारभन्दा बढी सेवाग्राहीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरमै प्राप्त गरेका छन्।
हुलाक सेवा विभागले राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, स्वास्थ्य सामग्री तथा सिमकार्डलगायतका सामग्री सरकारी कुरियर सेवामार्फत नागरिकको घरसम्म पुर्याउँदै आएको छ।
विभागले २०८२ चैत २३ गते सिराहाबाट सुरु गरेको घरदैलो सरकारी सेवा वितरण कार्यक्रम अहिले देशका ७७ वटै जिल्लामा विस्तार गरिसकेको छ। यसबाट सरकारी कार्यालयसम्म पुगेर कागजात लिनुपर्ने झन्झट कम हुनुका साथै सेवाग्राहीलाई सहजता थपिएको विभागको भनाइ छ।
विभागको २०८३ मङ्सिर २ गतेसम्मको तथ्यांकअनुसार १३ लाख ५३ हजार ९० वटा सवारी चालक अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयसम्म ढुवानी गरिएको छ। त्यसमध्ये एक हजार १०६ वटा लाइसेन्स सेवाग्राहीको घरमै पुर्याइएको छ।
त्यस्तै, राहदानी वितरणलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयसम्म तीन लाख ७० हजार ९२५ वटा राहदानी पुर्याइएको छ। यस अवधिमा १२ हजार ४३३ वटा राहदानी भने सिधै सेवाग्राहीको घरमा वितरण गरिएको विभागले जनाएको छ।
हुलाकको सेवा सरकारी कागजातमा मात्र सीमित छैन। विभागले २६५ वटा शैक्षिक प्रमाणपत्रको ढुवानी तथा वितरण गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक हजार ७२९ वटा नमुना पनि हुलाकमार्फत ओसारपसार गरिएको छ।
स्वास्थ्य बीमा बोर्डसँग सम्झौता भएका १८ अस्पतालका लागि १७१ बोरा स्वास्थ्य सामग्री ढुवानी गरिएको छ। यसले स्वास्थ्य संस्थामा आवश्यक सामग्री पुर्याउने काममा समेत हुलाकको भूमिका विस्तार भएको देखाउँछ।
नेपाल टेलिकमका सिमकार्ड तथा अन्य सामग्रीमध्ये २२१ वटा सम्बन्धित कार्यालयसम्म ढुवानी गरिएका छन् भने ४४ वटा सिमकार्ड सेवाग्राहीको घरमै पुर्याइएको छ। राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका ४४ हजार १८५ थान सामग्री पनि हुलाक सेवामार्फत वितरणका लागि ढुवानी गरिएको छ।
हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले पछिल्लो समय हुलाक सेवाको पहुँच र प्रभावकारिता दुवै बढिरहेको बताइन्।
उनका अनुसार गाउँगाउँसम्म सेवा विस्तार हुनु, नागरिकको विश्वास बढ्नु र अन्तर्राष्ट्रिय कुरियर सेवाको कारोबारमा वृद्धि हुनुले हुलाक सेवामा सुधार भइरहेको संकेत गर्छ।
उनले विश्व हुलाक संघ (युनिभर्सल पोस्टल युनियन–यूपीयू) को मूल्यांकनमा नेपालको अंक बढ्नु पनि संस्थागत सुधारको सकारात्मक उपलब्धि भएको बताइन्।
अन्तर्राष्ट्रिय क्षेत्रमा पनि सक्रियता
देशभित्र सरकारी कुरियर सेवा विस्तार गरिरहेको हुलाक विभागले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गरिरहेको छ। विश्व हुलाक संघको सदस्य राष्ट्रका रूपमा नेपालले अन्तर्राष्ट्रिय हुलाक प्रणालीमा सहभागिता बढाउँदै लगेको विभागले जनाएको छ।
यसैक्रममा विभागले लेटर पोस्ट कम्पेन्डियम र पार्सल पोस्ट कम्पेन्डियम अद्यावधिक गरी पठाएको विवरण यूपीयूबाट प्रकाशित भएको छ।
सरकारी कागजात र अत्यावश्यक सामग्री नागरिकको घरसम्म पुर्याउने सेवा विस्तारसँगै हुलाकलाई आधुनिक, पहुँचयोग्य र प्रभावकारी सार्वजनिक सेवा प्रदायक संस्थाका रूपमा विकास गर्ने प्रयास भइरहेको विभागको भनाइ छ।









Facebook Comments