काठमाडौं।राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत रामबाबू प्रसाद चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर सरकारी सेवामा बढुवा तथा पदस्थापन भएको आरोपमा आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

राजपत्रांकित द्वितीय श्रेणीका चौधरीले सेवा प्रवेशदेखि बढुवा र पदस्थापनसम्मका प्रक्रियामा झूटा शैक्षिक प्रमाणपत्र प्रयोग गरेको उजुरी परेपछि आयोगले अनुसन्धान थालेको थियो।

ad

अनुसन्धानबाट उनले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने आईए तहका विभिन्न शैक्षिक कागजात पेस गरेको खुलेको अख्तियारले जनाएको छ।

आयोगका अनुसार चौधरीले मार्क्स स्टेटमेन्ट, प्रोभिजनल सर्टिफिकेट, कलेज लिभिङ सर्टिफिकेट, कन्डक्ट सर्टिफिकेट र माइग्रेसन सर्टिफिकेटलगायतका कागजात नक्कली रूपमा तयार गरी सरकारी सेवामा पेस गरेका थिए।

ती प्रमाणपत्रका आधारमा उनले राष्ट्रसेवक कर्मचारीका रूपमा बढुवा तथा पदस्थापनको अवसर प्राप्त गर्नुका साथै पदअनुसारको ओहदा, सुविधा र लाभसमेत लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगको दाबी छ।

कैद र जरिवानाको मागदाबी

अख्तियारले चौधरीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर कायम हुनुपर्ने माग गरेको छ।

आयोगले साविक ऐनको दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुनुपर्ने मागदाबीसहित विशेष अदालतमा आरोपपत्र बुझाएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सरकारी पदको लाभ लिएको अनुसन्धानबाट खुलेपछि कानुनी कारबाही अघि बढाइएको उल्लेख छ।

अब चौधरीविरुद्धको मुद्दामा विशेष अदालतले प्रमाण र कानुनी आधारको परीक्षण गरी फैसला गर्नेछ।