काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो स्थापनाको २३ वर्षे इतिहासमा पहिलोपटक विश्व महिला सम्मेलन आयोजना गर्ने भएको छ। विदेशमा रहेका नेपाली महिलाको नेतृत्व विकास, आर्थिक सशक्तिकरण, उद्यमशीलता र अधिकारका विषयलाई केन्द्रमा राखेर आगामी पुस २० गते (४ जनवरी २०२७) काठमाडौंमा सम्मेलन हुन लागेको हो।

‘महिला सशक्तिकरणको आधार : रोजगारी, उद्यम र व्यापार’ भन्ने नारासहित आयोजना हुने सम्मेलनले स्वदेश तथा विदेशमा रहेका नेपाली महिलाबीच अनुभव, ज्ञान, सीप र व्यावसायिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको छ।
एनआरएनए महिला उपाध्यक्ष राधिका गुरुङ (टीका) ले संघको इतिहासमै महिला नेतृत्व र आर्थिक सशक्तिकरणलाई केन्द्रमा राखेर पहिलोपटक विश्वस्तरीय सम्मेलन आयोजना गर्न लागिएको बताइन्।

ad

सन् २००३ मा स्थापना भएको संघले यसअघि विभिन्न गतिविधि सञ्चालन गर्दै आए पनि महिलाका सवाललाई केन्द्रमा राखेर छुट्टै विश्व सम्मेलन गर्न लागेको यो पहिलो अवसर भएको उनको भनाइ छ।

एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईका अनुसार सम्मेलनमा विश्वका ९० देशमा रहेका गैरआवासीय नेपाली महिला र नेपालका विभिन्न क्षेत्रमा सक्रिय महिलालाई एउटै मञ्चमा ल्याइनेछ। उनीहरूबीच अनुभव र ज्ञान आदानप्रदान गराउनुका साथै महिलाले भोगिरहेका नीतिगत, कानुनी तथा व्यवहारिक समस्याको पहिचान गरी समाधानका उपाय खोजिने उनले बताइन्।

महिला अधिकारदेखि वैदेशिक रोजगारीसम्म छलफल
सम्मेलनमा महिला सशक्तिकरणसँग सम्बन्धित चार प्रमुख विषयगत क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यपत्र प्रस्तुति, छलफल र अन्तरक्रिया गरिनेछ।

महिलाको अधिकारसँग सम्बन्धित विद्यमान कानुन, नीति, निर्देशिका र संस्थागत व्यवस्थाको समीक्षा गर्दै आवश्यक सुधारका विषय उठाइनेछ। विशेषगरी विदेशमा बसोबास गर्ने नेपाली महिलाका अधिकार, अवसर र कानुनी संरक्षणका सवालमा छलफल हुनेछ।

वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र अधिकार पनि सम्मेलनको महत्वपूर्ण एजेन्डा हुनेछ। विदेश जानुअघिको तयारी, गन्तव्य मुलुकमा भोग्नुपर्ने सुरक्षा चुनौती, मानसिक स्वास्थ्य तथा श्रम अधिकारका विषयमा छलफल गरिनेछ।

त्यस्तै, वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका महिलालाई समाजमा सम्मानजनक पुनःएकीकरण गराउने र उनीहरूले विदेशमा आर्जन गरेको सीप तथा अनुभवलाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माणबारे पनि विमर्श हुनेछ।

महिला उद्यमीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने लक्ष्य
स्वदेश तथा विदेशमा रहेका नेपाली महिला उद्यमीबीच व्यावसायिक साझेदारी बढाउने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनेछ।

महिलाको उद्यमशीलता विकासका लागि आवश्यक पुँजी, वित्तीय स्रोत, प्रविधि र बजारसम्मको पहुँच विस्तार गर्ने उपाय खोजिने आयोजकले जनाएको छ।

नेपालमा उत्पादन हुने मौलिक वस्तुको उत्पादन, प्रवर्द्धन, बजारीकरण र अन्तर्राष्ट्रिय निर्यातमा महिला उद्यमीको सहभागिता बढाउने सम्भावनाबारे समेत छलफल हुनेछ।

विशेषगरी सातै प्रदेश र स्थानीय तहमा क्रियाशील महिला उद्यमीलाई स्वदेश तथा विदेशका बजार र लगानीकर्तासँग जोड्ने माध्यमका रूपमा सम्मेलनलाई उपयोग गर्ने लक्ष्य राखिएको छ।

जलवायु परिवर्तन र महिला सुरक्षाका सवाल पनि उठाइने
प्राकृतिक विपद् र जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभावलाई पनि सम्मेलनमा विशेष प्राथमिकता दिइनेछ।

रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीलगायतका प्राकृतिक विपद्का कारण महिलाले भोग्नुपरेका समस्या, जलवायु न्याय र विपद् व्यवस्थापनमा महिलाको भूमिकाबारे छलफल गरिने संघले जनाएको छ।

त्यसैगरी लैङ्गिक हिंसा, मानव बेचबिखन तथा महिला र बालबालिकाको सुरक्षा र संरक्षणका विषयमा आवश्यक नीतिगत तथा संस्थागत पहलका उपाय खोजिनेछन्।

महिला सशक्तिकरणलाई राष्ट्रको दिगो र समावेशी विकाससँग जोड्दै आयोजना गर्न लागिएको सम्मेलनले विभिन्न क्षेत्रमा सफलता हासिल गरेका नेपाली महिलाका अनुभव र संघर्षका कथालाई समेत सार्वजनिक मञ्चमा ल्याउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार सम्मेलन केवल छलफलमा सीमित नभई महिला उद्यमशीलता, रोजगारी, लगानी र अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्य विस्तारका लागि ठोस कार्यदिशा तयार गर्ने अवसरसमेत हुनेछ।