
काठमाडौं।काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा अपेक्षित प्रगति नगर्ने निर्माण कम्पनीमाथि सरकारले कडा कदम चाल्ने भएको छ। संशोधित कार्यतालिकाअनुसार काम नगर्ने ठेकेदारसँगको सम्झौता तत्काल रद्द गरिने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चेतावनी दिएका छन्।
मकवानपुरस्थित महादेवटार सुरुङको ब्रेक थ्रु कार्यक्रममा बोल्दै मन्त्री लम्सालले राष्ट्रिय गौरवको आयोजनालाई थप लम्ब्याउने पक्षमा सरकार नरहेको स्पष्ट पारे। पटकपटक निर्देशन, चेतावनी र अनुगमन गर्दा पनि निर्माण व्यवसायीले कामको गति बढाउन नसकेको भन्दै उनले अब थप समय र सुविधा दिन नसकिने बताए।
मन्त्री लम्सालले विशेषगरी प्याकेज नम्बर ९ 'ए', ९ 'बी' र ८ 'बी' अन्तर्गतका निर्माण कार्यको प्रगति सन्तोषजनक नरहेको उल्लेख गरे। निर्माण कम्पनीहरूलाई पर्याप्त अवसर दिँदा पनि प्रतिबद्धताअनुसार काम हुन नसकेपछि ठेक्का तोड्ने विकल्पमा सरकार पुगेको उनको भनाइ छ।
'संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीहरूको ठेक्का तत्काल रद्द गरौँ। अब यो आयोजनालाई थप लम्ब्याउन जोखिम मोल्ने वा व्यवसायीलाई थप सुविधा दिने कुनै बाटो छैन,' उनले भने।
सरकारले फास्ट ट्र्याक निर्माणको अवधि थप तीन वर्षभन्दा बढी लम्बिन नदिने नीति लिएको पनि मन्त्री लम्सालले बताए। निर्धारित समयमा काम पूरा हुने आधार नदेखिए सम्झौता अन्त्य गरेर बाँकी निर्माणका लागि नयाँ टेन्डर आह्वान गरिने उनले स्पष्ट पारे।
त्यसैगरी, काठमाडौं प्रवेशतर्फ आयोजनाको प्रारम्भिक बिन्दुमा देखिएका समस्या समाधान गरी रोकिएको कामलाई तीव्रता दिने तयारी भइरहेको उनले जानकारी दिए।
निर्माणको मुख्य सिजन सुरु भइसकेको उल्लेख गर्दै मन्त्री लम्सालले आगामी जेठसम्म संशोधित कार्यतालिकाअनुसार उल्लेख्य प्रगति देखाउन निर्माण कम्पनीहरूलाई निर्देशन दिएका छन्। तोकिएको समयमा काम अघि बढेको सुनिश्चित नभए ठेक्का रद्द गर्न सरकार पछि नहट्ने उनको चेतावनी छ।
महादेवटार सुरुङको ब्रेक थ्रु कार्यक्रममा मन्त्री लम्सालको अभिव्यक्तिले फास्ट ट्र्याक निर्माणमा ढिलाइ गरिरहेका निर्माण व्यवसायीमाथि सरकार थप कडा रूपमा प्रस्तुत हुने संकेत गरेको छ।









Facebook Comments