काठमाडौं।प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार तथा रणनीतिकार कुमार ब्यञ्जनकार (कुमार बेन) विरुद्ध डिजिटल प्रमाणमा अनधिकृत पहुँच पुर्‍याएको र प्रमाण नष्ट गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ।

जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले बुधबार प्रहरी कार्यालय भद्रकाली पुगेर ब्यञ्जनकारमाथि अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गर्दै जाहेरी दिएका हुन्।

ad

शाहले मुलुकी अपराध संहिता, २०७४ को दफा ८९ अन्तर्गत झुटा प्रमाण बनाउन नहुने कसुरमा अनुसन्धान गर्न माग गरेका छन्।

जाहेरीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका ईनम सापकोटाका दुईवटा मोबाइल फोन ब्यञ्जनकारले डिजिटल फरेन्सिक परीक्षण हुनुअघि नै आफ्नो ज्वागलस्थित निवासमा दुई दिनसम्म राखेको आरोप लगाइएको छ।

जाहेरीकर्ताको दाबीअनुसार २०२६ अक्टोबर २ अर्थात् २०८३ असोज १६ गते राति करिब ९ः१५ बजे ती मोबाइल फोन ब्यञ्जनकारको घरमा रहेको तथ्य प्रहरीको लोकेसन ट्र्याकिङबाट समेत पुष्टि भएको छ।

प्रहरीमा मोबाइल फिर्ता गरिएपछि गरिएको डिजिटल फरेन्सिक परीक्षणका क्रममा ह्वाट्सएप र फेसबुकलगायत सामाजिक सञ्जाल अनधिकृत रूपमा प्रयोग भएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको तथा सापकोटा र ब्यञ्जनकारबीच भएका केही महत्वपूर्ण सन्देश मेटाइएको जाहेरीमा उल्लेख छ।

प्रहरीको अनुसन्धान प्रक्रियाभित्र रहेका डिजिटल उपकरणमा बाह्य पहुँच पुर्‍याएर सामग्री हटाउने वा परिवर्तन गर्ने काम भएको भन्दै शाहले यस घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।

जाहेरीमा ब्यञ्जनकारमाथि प्रहरी नियन्त्रणमा रहेको डिजिटल सामग्रीमा अनधिकृत पहुँच, प्रमाण नष्ट गर्ने प्रयास तथा पदीय प्रभाव प्रयोग गरी अनुसन्धान प्रक्रियालाई प्रभावित पारेको आरोप लगाइएको छ।

राज्यको उच्च राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिबाट अनुसन्धानका क्रममा रहेका प्रमाणमा हस्तक्षेप भएको भए त्यसले अनुसन्धानको निष्पक्षता र गोपनीयताको अधिकारमाथि प्रश्न उठाउने जाहेरीकर्ताको दाबी छ।

जेनजी मुभमेन्ट नेपालले जाहेरीसँगै आवश्यक प्रमाण र सञ्चारमाध्यममा प्रकाशित समाचारसमेत संलग्न गरेको जनाएको छ। संगठनले सम्पत्ति शुद्धीकरण निवारण ऐन, मुलुकी अपराध संहिता तथा प्रचलित कानुनअनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषी ठहर हुनेमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।

प्रहरीमा जाहेरी परेसँगै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारसमेत जोडिएको यो विषय अब अनुसन्धानको प्रक्रियामा प्रवेश गर्ने भएको छ। यद्यपि जाहेरीमा लगाइएका आरोपको स्वतन्त्र पुष्टि हुन र ब्यञ्जनकारको पक्षसमेत स्पष्ट हुन बाँकी छ।