
काठमाडौं।काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणअन्तर्गत मकवानपुरमा रहेको महादेवटार सुरुङको ब्रेक थ्रु भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको द्रुतमार्ग निर्माणमा यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ब्रेक थ्रु कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका थिए।
कार्यक्रममा राष्ट्रपति पौडेलले द्रुतमार्ग निर्माणले नेपालको यातायात पूर्वाधारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। काठमाडौं उपत्यकालाई तराई–मधेससँग प्रत्यक्ष जोड्ने करिब ७१ किलोमिटर लामो यो सडक सञ्चालनमा आएपछि राजधानी र तराईबीचको आवागमन सहज हुने उनको भनाइ छ।
उनले द्रुतमार्गले यात्रा समय र दूरी घटाउनुका साथै इन्धन खपत तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चसमेत कम गर्ने बताए।
राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवको यस आयोजनामा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। जटिल भू-बनोट, विकट भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिका बीच पनि सेनाले सुरुङ, पुल तथा सडक निर्माणमा व्यावसायिक दक्षता प्रदर्शन गरेको उनको भनाइ थियो।
उनले द्रुतमार्गलाई केवल सडक पूर्वाधारका रूपमा मात्र नभई देशको आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोडिएको महत्वपूर्ण आयोजनाका रूपमा व्याख्या गरे।
द्रुतमार्ग सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण र क्षेत्रीय आर्थिक गतिविधिमा विस्तार हुने अपेक्षा गरिएको छ। यसले काठमाडौं र तराई–मधेसबीचको दूरी घटाउनुका साथै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई समेत बलियो बनाउने राष्ट्रपति पौडेलले बताए।
आयोजना समयमै सम्पन्न गर्न सरकार र नेपाली सेना प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले निर्माण कार्यलाई प्रभावकारी बनाउन सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि चीनका राजदूत चाङ माओमिङ, दक्षिण कोरियाका राजदूत पार्क जे क्यूङ तथा प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए।
महादेवटार सुरुङको ब्रेक थ्रुसँगै काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणले अर्को महत्वपूर्ण चरण पार गरेको छ।









Facebook Comments