काठमाडौं।नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र देखिने वैचारिक तथा राजनीतिक मतभेदलाई विरोधका रूपमा बुझ्ने प्रवृत्ति गलत भएको बताएका छन्। उनले पार्टीभित्रका असहमति र अन्तर्विरोधलाई विधिसम्मत प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

पार्टीको राष्ट्रिय भेलामा प्रस्ताव प्रस्तुत गर्दै पोखरेलले पार्टी सुदृढीकरणको अभियान कसैलाई निषेध गर्ने उद्देश्यले अघि नबढाइएको स्पष्ट पारे। पार्टीको आदर्श, अनुशासन, नैतिकता र जनविश्वास पुनःस्थापित गर्नु नै यसको मुख्य लक्ष्य रहेको उनको भनाइ छ।

ad

उनले पार्टीमा देखिएका कमजोरी सुधार गर्दै जनतासँगको सम्बन्ध बलियो बनाउन र सामूहिकतामा आधारित राजनीतिक संस्कृतिको विकास गर्नुपर्ने बताए।

पोखरेलले नेता तथा कार्यकर्ताको जीवनशैली र आचरण जनताका लागि उदाहरणीय हुनुपर्ने उल्लेख गरे। उनीहरू सरल, जनमुखी, श्रमप्रति सम्मान गर्ने र आम नागरिकले अपनत्व महसुस गर्ने व्यवहारमा प्रस्तुत हुनुपर्ने उनको धारणा छ।

जनतासँगको दूरी बढाउने तडकभडक, अपमानजनक अभिव्यक्ति र शक्तिको दुरुपयोगलाई निरुत्साहित गर्नुपर्ने उनले बताए। पार्टीका सबै तहका कमिटीले जनसम्पर्क, श्रम, उत्पादन, सामाजिक सेवा र जनताका समस्या समाधानलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाउनुपर्ने उनको प्रस्ताव छ।

नेता तथा कार्यकर्ताहरू जनताको घरदैलोमा पुग्ने, उनीहरूका समस्या सुन्ने र दैनिक जीवनसँग जोडिएका समस्याको समाधानमा सक्रिय हुने अभ्यास विकास गर्नुपर्नेमा पनि उनले जोड दिए।

महासचिव पोखरेलले पार्टीभित्र पछिल्लो समय आर्थिक जीवनशैली भड्किलो बन्दै गएको, नैतिक आचरणमाथि प्रश्न उठ्ने गरेको तथा आर्थिक अपराध, अनियमितता र यौनजन्य गतिविधिसँग सम्बन्धित घटनाहरू सार्वजनिक हुने गरेको उल्लेख गरे।

यस्ता घटनामा संस्थागत छानबिन र तथ्यमा आधारित निर्णय हुन नसकेको उनको टिप्पणी छ।

'आरोप सत्य वा असत्य जे भए पनि निष्पक्ष छानबिन, तथ्यमा आधारित निर्णय र आवश्यकताअनुसार कारबाहीको प्रक्रिया स्थापित हुनुपर्दछ,' पोखरेलले भने, 'यस्ता विषयमा मौनता वा ढिलाइले जनस्तरमा नकारात्मक प्रभाव पार्छ।'

उनले पार्टीका सम्बन्धित कमिटीहरूले यस्ता विषयलाई गम्भीरतापूर्वक लिँदै समयमै छानबिन गर्ने संस्थागत व्यवस्था विकास गर्नुपर्ने बताए।

पार्टी नेतृत्व सर्वहारा वर्ग, किसान, आधारभूत समुदाय र आम जनताबाट टाढिँदै सम्भ्रान्त वर्गको प्रभावमा परेको आरोपसमेत लाग्ने गरेको पोखरेलले प्रतिवेदनमा उल्लेख गरेका छन्।

त्यस्तै, पार्टीभित्र अनुशासनहीनता र अराजकता बढ्दै गएको अनुभूति कार्यकर्तामाझ रहेको उनको भनाइ छ। अधिवेशन तथा महाधिवेशनका बेला आन्तरिक लोकतन्त्रको माग गर्ने तर निर्वाचनको परिणाम सहज रूपमा स्वीकार गर्न नसक्ने प्रवृत्तिले गुटबन्दी र आन्तरिक विवादलाई निरन्तरता दिएको उनले बताए।

पोखरेलले आन्तरिक लोकतन्त्र, पार्टी अनुशासन र सामूहिक निर्णयको कार्यान्वयनलाई एकअर्काका पूरकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्।

उनका अनुसार अनुशासन उल्लंघन र पार्टीभित्र अन्तर्घात गर्ने गतिविधिमा संलग्नलाई समयमै कारबाही गर्नुपर्छ। तर वैचारिक तथा राजनीतिक असहमतिलाई विरोध वा अनुशासनहीनतासँग जोडेर हेर्न नहुने उनको प्रस्तावको आशय छ।

यसैगरी, पार्टीका सबै तहका कमिटीको आर्थिक पारदर्शिता सुनिश्चित गर्न वार्षिक रूपमा हिसाबकिताब परीक्षण (अडिट) गर्ने वैधानिक व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि पोखरेलले अघि सारेका छन्।

पार्टीको संगठनात्मक सुधार, नेतृत्वको आचरण, आर्थिक पारदर्शिता र आन्तरिक लोकतन्त्रलाई प्रभावकारी बनाउने विषयलाई उनले राष्ट्रिय भेलामा प्रस्तुत गरेको प्रतिवेदनमा प्राथमिकताका साथ उठाएका छन्।