
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारको नेतृत्वमा पुग्ने दाबी गर्दै देशमा विकास र समृद्धि ल्याउने उद्घोष गरेका छन्। उनले एमालेको राजनीतिक शक्ति र जनाधारलाई कमजोर नआँक्न विपक्षीहरूलाई चेतावनीसमेत दिएका छन्।
बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै ओलीले एमाले फेरि सिंहदरबार प्रवेश गर्ने बताएका हुन्। 'हेक्का रहोस्, एमाले मूल ढोकाबाट सिंहदरबार पस्छ र समृद्धि ल्याएरै छोड्छ,' उनले भने।
ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सम्भावित राजनीतिक आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। वर्तमान सरकारले राजनीतिक प्रतिशोधका आधारमा नेताकार्यकर्तालाई पक्राउ गर्न सक्ने र आक्रमण हुन सक्ने आशंका व्यक्त गर्दै उनले कुनै पनि परिस्थितिको सामना गर्न तयार रहन आग्रह गरे।
उनले सरकार संविधान, कानुन र राजनीतिक मर्यादाअनुसार सञ्चालन नभएको आरोप लगाए।
'आन्दोलनको तयारी हिसाबले बस्नुस्। कुनै पनि बेला सरकारले कसैमाथि प्रतिशोध लिन सक्छ, कसैलाई गिरफ्तार गर्न सक्छ वा आक्रमण गर्न सक्छ,' ओलीले भने।
आफूलाई पक्राउ गर्न सक्ने सम्भावनाबारे पनि उनले भेलामा चर्चा गरेका थिए। आफ्नो गिरफ्तारी भए एमालेका कार्यकर्ता ठूलो संख्यामा सडकमा उत्रिने चेतावनी दिँदै उनले यसपटक प्रदर्शनमा सहभागी हुनेहरूको संख्या लाखौं पुग्न सक्ने दाबी गरे। 'एमाले चुप लागेर बस्नेछैन। त्यसबेला केही हजारका दरले निस्किएका होलान्, अब लाखका हिसाबले निस्कन्छन्,' ओलीले भने।
ओलीले नयाँ प्रहरी महानिरीक्षकले आफू, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई थुनिदिने प्रतिबद्धता जनाएको जिकिरसमेत गरे। यद्यपि उनले उक्त दाबीको आधार भने स्पष्ट पारेनन्।
आफ्नो पार्टी पुनः सरकारमा पुग्ने दाबी दोहोर्याउँदै ओलीले एमाले विगतमा पनि जनताको समर्थन र राजनीतिक संघर्षबाट सत्तामा पुगेको बताएका छन्।उनले एमाले कुनै राजनीतिक शक्ति वा समूहको कृपाले सरकारमा नगएको उल्लेख गर्दै जनताको समर्थनबाट निर्वाचन जितेर नेतृत्वमा पुगेको जिकिर गरे।
'संघर्षको मैदानबाट आएर लडेर जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौं। जनताको कृपाले गएका हौं,' ओलीले भने। उनले एमाले पुनः सरकारको नेतृत्वमा पुग्ने विषय विपक्षीहरूले पनि स्पष्ट रूपमा बुझ्नुपर्ने बताए।
राष्ट्रिय कार्यकर्ता भेलामार्फत ओलीले एकातिर पार्टीलाई आगामी राजनीतिक प्रतिस्पर्धाका लागि तयार रहन निर्देशन दिएका छन् भने अर्कोतर्फ सरकारविरुद्ध आवश्यक परे आन्दोलनमा उत्रिने संकेत गरेका छन्। उनको सम्बोधनमा पार्टीको पुनरागमन, राजनीतिक संघर्ष र सरकारको आलोचना मुख्य विषयका रूपमा देखिएका छन्।









Facebook Comments