काठमाडौं।नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माको जिम्मेवारी र अधिकार क्षेत्र विस्तार भएको छ। पार्टी विधानमा गरिएको संशोधनसँगै सिर्जना गरिएको नयाँ पद वरिष्ठ उपसभापतिलाई विगतमा महामन्त्री र सभापतिले प्रयोग गर्दै आएका महत्त्वपूर्ण अधिकारसमेत प्रदान गरिएको छ।

संशोधित विधानले वरिष्ठ उपसभापतिलाई पार्टीको संगठनात्मक तथा प्रशासनिक काममा थप प्रभावशाली भूमिका दिएको छ। केन्द्रीय कार्यालयको संयोजन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्व र सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिको जिम्मेवारीसमेत अब वरिष्ठ उपसभापतिमा केन्द्रित गरिएको छ।

ad

यसअघि कांग्रेसको केन्द्रीय कार्यालय महामन्त्रीको मातहतमा रहने व्यवस्था थियो। विधानको धारा २७ ले महामन्त्रीलाई पार्टी केन्द्रीय कार्यालयको रेखदेख तथा सञ्चालन गर्ने अधिकार दिएको थियो। संशोधनपछि पनि उक्त व्यवस्था यथावत् राखिएको छ। तर, धारा २६ (क) को उपधारा ३ मा वरिष्ठ उपसभापतिको काम, कर्तव्य र अधिकारअन्तर्गत केन्द्रीय कार्यालयको संयोजन गर्ने जिम्मेवारी थपिएको छ।

यससँगै पार्टी केन्द्रीय कार्यालयको व्यवस्थापनमा महामन्त्रीसँगै वरिष्ठ उपसभापतिको भूमिका पनि स्थापित भएको छ। यसअघि महामन्त्री रहेका गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा पार्टीको केन्द्रीय कार्यालयसम्बन्धी जिम्मेवारी निर्वाह गरेका थिए। नयाँ विधानले भने कार्यालयको संयोजन गर्ने अधिकार वरिष्ठ उपसभापतिलाई स्पष्ट रूपमा दिएको छ।

वरिष्ठ उपसभापतिको अधिकार विस्तारको अर्को महत्त्वपूर्ण पक्ष केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्व हो। कांग्रेसको यो प्रतिष्ठानलाई पार्टीको नीति निर्माण, अध्ययन, अनुसन्धान र प्रशिक्षणसँग जोडिएको महत्त्वपूर्ण निकाय मानिन्छ।

यसअघि विधानको धारा ३६ अनुसार सभापतिले तोकेको केन्द्रीय उपसभापति प्रतिष्ठानको प्रमुख हुने व्यवस्था थियो। अर्थात्, प्रतिष्ठानको नेतृत्व कसलाई दिने भन्ने निर्णय गर्ने अधिकार सभापतिसँग रहँदै आएको थियो। तर, विधान संशोधनपछि वरिष्ठ उपसभापति नै प्रतिष्ठानको प्रमुख हुने व्यवस्था गरिएको छ। यसले प्रतिष्ठानको नेतृत्वसम्बन्धी सभापतिको स्वविवेकीय अधिकारलाई संस्थागत व्यवस्थामार्फत वरिष्ठ उपसभापतिमा स्थानान्तरण गरेको छ।

यसअघि सभापति शेरबहादुर देउवाले आफ्नो पहिलो कार्यकालमा विमलेन्द्र निधि र दोस्रो कार्यकालमा पूर्णबहादुर खड्कालाई उपसभापतिको जिम्मेवारी दिएका थिए। उनीहरूलाई पार्टीभित्र महत्त्वपूर्ण जिम्मेवारी प्रदान गर्ने निर्णय सभापतिको इच्छाअनुसार हुने गरेको थियो। नयाँ विधानले भने वरिष्ठ उपसभापतिको जिम्मेवारी र अधिकारलाई स्पष्ट रूपमा परिभाषित गरेपछि नेतृत्वले जिम्मेवारी बाँडफाँट गर्ने पुरानो अभ्यासमा परिवर्तन ल्याएको छ।

त्यस्तै, सभापतिको अनुपस्थितिमा पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि संशोधित विधानले नयाँ व्यवस्था गरेको छ। धारा २६ (क) को उपधारा १ अनुसार केन्द्रीय सभापति अनुपस्थित हुँदा वरिष्ठ उपसभापतिले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नेछन्।

यसअघि सभापति विदेश भ्रमणमा गएको वा अन्य कारणले अनुपस्थित भएको अवस्थामा उपसभापतिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने वा नदिने निर्णय सभापतिले नै गर्दै आएका थिए। पुरानो विधानको धारा २५ मा सभापतिको काम, कर्तव्य र अधिकारअन्तर्गत आवश्यकताअनुसार उपसभापतिलाई कार्यवाहक तोक्न सक्ने व्यवस्था थियो।

नयाँ व्यवस्थाले सभापतिको अनुपस्थितिमा कार्यवाहक नेतृत्वको जिम्मेवारी स्वतः वरिष्ठ उपसभापतिमा जाने सुनिश्चित गरेको छ।

विधान संशोधनसँगै विश्वप्रकाश शर्माको जिम्मेवारी पार्टीको प्रशासनिक व्यवस्थापनदेखि नीति तथा प्रशिक्षणको नेतृत्व र कार्यकारी नेतृत्वको निरन्तरतासम्म फैलिएको छ। यसले कांग्रेसको आन्तरिक शक्ति संरचना र पदाधिकारीबीच अधिकार बाँडफाँटको स्वरूपमा समेत परिवर्तन ल्याएको छ।