काठमाडौं।सहकारीको रकम हिनामिना गरेको अभियोगमा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय सुनाइएको छ। साथै, अदालतले उनीमाथि १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना पनि तोकेको छ। इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अन्य प्रतिवादीहरूलाई पनि अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ।

सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही ७ वर्ष कैद तथा १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ। त्यसैगरी, निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।

ad

अदालतले कैद र जरिवानाबाहेक सातै जना प्रतिवादीबाट बिगोसमेत असुल गर्न आदेश दिएको छ। मुद्दामा प्रतिवादी बनाइएका १५ जनामध्ये आठ जना अझै फरार छन्।

५७ करोडभन्दा बढी बिगो दाबीसहित मुद्दा

इमेज सहकारीको रकम हिनामिना प्रकरणमा २०८० भदौ १२ गते पहिलोपटक अदालतमा अभियोगपत्र दर्ता भएको थियो। पाँच सय २४ जना बचतकर्ताको जाहेरीका आधारमा १५ जनालाई प्रतिवादी बनाउँदै ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो।

मुद्दाको प्रक्रिया अघि बढ्दै जाँदा पाँच चरणमा चार सय जना बचतकर्तासँग मिलापत्र भएको थियो। त्यसपछि बाँकी रहेका कमलप्रसाद पौडेलसहित एक सय १० जना बचतकर्ताको जाहेरीका आधारमा करिब १८ करोड रुपैयाँ बिगो मागदाबी गर्दै पूरक अभियोगपत्र दायर गरिएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले देवकुमार नेपालीविरुद्ध पोखरास्थित इमेज सहकारीबाट मात्रै ५७ करोड ३५ लाख ८० हजार रुपैयाँ हिनामिना गरेको अभियोग लगाएको थियो।

अदालतको आदेशपछि नेपाली हाल बागलुङ कारागारमा थुनामा छन्।

मेयर पदमै रहँदा सहकारीको अध्यक्ष, रकम फिर्ता मागेपछि फरार

ढोरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित भए पनि नेपालीले पोखरा र बागलुङमा सञ्चालित इमेज सहकारीको अध्यक्ष पद छाडेका थिएनन्। उनी आफैँले दुवै स्थानमा सहकारी स्थापना गरी नेतृत्व गर्दै आएका थिए।

अनुसन्धानका क्रममा नेपालीको नेतृत्वमा सञ्चालित दुवै सहकारीबाट करिब दुई अर्ब रुपैयाँ हिनामिना भएको खुलेको थियो।

इमेज सहकारी स्थापना गर्नुअघि नेपाली पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष थिए। तत्कालीन अध्यक्ष जीबी राईसँग विवाद भएपछि उनले उक्त संस्था छाडेर आफ्नै नेतृत्वमा इमेज सहकारी सञ्चालन गरेका थिए।

बचतकर्ताहरूले जम्मा गरेको रकम फिर्ता माग्न थालेपछि नेपाली सम्पर्कविहीन भएका थिए। उनी करिब १६ महिनासम्म फरार रहे। पछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो।

त्यसपछि अदालतको आदेशअनुसार उनलाई बागलुङ कारागारमा राखिएको हो।

सूर्यदर्शन सहकारीको रकम हिनामिनामा पनि मुद्दा

नेपालीमाथि इमेज सहकारीबाहेक पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित अर्को ठगी मुद्दा पनि छ।

सूर्यदर्शन सहकारीको उपाध्यक्ष रहेका बेला उनले अनधिकृत रूपमा ७७ लाख ५० हजार रुपैयाँ व्यक्तिगत खातामा सारेको र उक्त रकम फिर्ता नगरेको सरकारी वकिलको प्रतिवेदनमा उल्लेख छ।

यस प्रकरणमा कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहले नेपालीलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए।

यसरी सहकारीको रकम हिनामिनासम्बन्धी विभिन्न प्रकरणमा मुछिएका ढोरपाटनका मेयर नेपालीमाथि इमेज सहकारी मुद्दामा कैद, जरिवाना र बिगो असुलको फैसला भएको छ।