
काठमाडौं । नेकपा एमालेले भोलि मंसिर २ गते बुधबार र ३ गते बिहिबार काठमाडौंको माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ ।
भेलाको लागि सम्पूर्ण तयारी पूरा भईसकेको पनि एमालेले जनाएको छ । भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीसम्मका गरी ३ हजार ४१४ जना सहभागी हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।
मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भेला भेलामा संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिसमेत सहभागी हुनेछन्। भेलामा अध्यक्ष ओलीसहित पूर्वराष्ट्रपतिसमेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
भेलामा उपाध्यक्ष रामबहादुर थापा र विष्णुप्रसाद पौडेल तथा महासचिव शंकर पोखरेलले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने पनि प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए । पार्टीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र १५ कामको कार्यान्वयनबारे छलफल गर्नु भेलाको मुख्य उद्देश्य रहेको एमाले नेताहरुले बताएका छन् ।








Facebook Comments