काठमाडौं।सिन्धुलीको बीपी राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। जनकपुरबाट काठमाडौं आउँदै गरेको माइक्रोबस मंगलबार दिउँसो गोलन्जोर गाउँपालिका–७ पलासेस्थित अधेरी खोलाको बगरमा खसेको हो।

प्रहरीका अनुसार मधेस प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस दिउँसो करिब २ बजे अनियन्त्रित भएर सडकबाट झन्डै २० मिटर तल खसेको थियो।

ad

दुर्घटनामा चालकसहित माइक्रोबसमा सवार १४ जना घाइते भएका छन्। घटनालगत्तै उद्धार गरिएका सबै घाइतेलाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये नौ जनाको पहिचान खुलेको छ भने पाँच जनाको नाम र ठेगाना खुल्न बाँकी छ।

पहिचान खुलेका घाइतेमध्ये धनुषाको शहीदनगर नगरपालिका–८ का माइक्रोबस चालक दीपककुमार दास छन्। त्यस्तै, शहीदनगर नगरपालिका–७ की १७ वर्षीया रानीकुमारी मण्डल तथा शहीदनगर नगरपालिका–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित पनि घाइते भएका छन्।

यसैगरी, ललितपुरको भैँसेपाटी निवासी ३६ वर्षीया प्रियाङ्का साह र उनका छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह तथा ३ वर्षीया ओमी साह दुर्घटनामा परेका छन्।

दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्काल उद्धार कार्य सञ्चालन गरी घाइतेलाई अस्पताल पुर्‍याएको थियो।

दुर्घटनामा परेका बाँकी पाँच जनाको पहिचान खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ। माइक्रोबस कसरी अनियन्त्रित भयो भन्ने विषयमा पनि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।