काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेर ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट केही थान ल्यापटप र मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ।

रिसोर्टमा बस्दै आएका चिनियाँ नागरिकको गतिविधि शंकास्पद रहेको भन्दै गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले रिसोर्टमा अनुगमन तथा छानबिन गरेको हो।

ad

प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये ३१ जना पुरुष र पाँच जना महिला छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रविन विष्टले छापा मार्ने क्रममा दुईवटा कोठामा शंकास्पद गतिविधि देखिएकाले थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत बोलाइएको जानकारी दिएका छन्।
छापा अभियानमा जिल्ला प्रशासन कार्यालयको तर्फबाट अधिकृत सुनिता थापाले नेतृत्व गरेकी थिइन् भने प्रहरी टोलीको नेतृत्व डीएसपी विष्टले गरेका थिए।

घटनासँग सम्बन्धित सामग्री र व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूको गतिविधि, उनीहरू रिसोर्टमा बस्नुको उद्देश्य तथा बरामद सामग्रीको प्रकृतिबारे अनुसन्धानपछि थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

यसैबीच, काभ्रेका अन्य पर्यटकीय क्षेत्रमा रहेका रिसोर्टहरूमा पनि चिनियाँ नागरिकहरू लामो समयदेखि बस्दै आएको पाइएको छ। धुलिखेलको देवीथानस्थित गन्तव्य रिसोर्ट, पनौतीको थुम्की रिसोर्ट र बल्थली माउन्टेन रिसोर्टमा समेत चिनियाँ नागरिकहरूले मासिक रूपमा ठूलो रकम भाडा तिरेर बस्ने गरेको विवरण सार्वजनिक भएको छ।

ह्वाइट पार्क रिसोर्टमा भएको प्रहरी कारबाहीपछि जिल्लाका अन्य रिसोर्टहरूमा विदेशी नागरिकको बसोबास, गतिविधि र आवश्यक कागजातसम्बन्धी विषयमा पनि चासो बढेको छ।