काठमाडौं।प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताको माग गर्दै नेपाल पत्रकार महासंघले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

ad

महासंघले समाचार कक्षभित्रै प्रहरी प्रवेश गरेर पत्रकारमाथि धरपकड गरेको, प्रेस स्वतन्त्रतालाई सीमित गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउन खोजिएको तथा सञ्चारमाध्यममा अवरोध पुर्‍याउने गरी अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि कारबाही नभएको विषयलाई आन्दोलनको मुख्य कारण बनाएको छ।

त्यस्तै, सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती कामबाट हटाइएको र श्रम अधिकारको उल्लंघन भएको विषयमा पनि महासंघले आपत्ति जनाएको छ। गोरखापत्रलगायत सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई निष्कासन गरिएको घटनाले पत्रकारको पेसागत सुरक्षामाथि प्रश्न उठाएको महासंघको भनाइ छ।

पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनबापत पाउँदै आएको रकमसमेत प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयलाई महासंघले आन्दोलनको अर्को आधार बनाएको छ।

महासंघले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा उदासीनता देखाएको आरोप लगाएको छ। पत्रकारमाथिको धरपकड, सञ्चारमाध्यममाथिको हस्तक्षेप र श्रम अधिकारको बेवास्ताले स्वतन्त्र पत्रकारिताको वातावरण प्रभावित भएको महासंघको निष्कर्ष छ।

प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारका पेसागत तथा श्रमसम्बन्धी अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलनका कार्यक्रम अघि बढाइएको महासंघले जनाएको छ।