बुटवल । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पछिल्लो ३५ वर्षमा देशमा केही पनि काम भएन भन्ने भाष्य गलत भएको बताएका छन्। विगतका राजनीतिक उपलब्धि र विकासका प्रयासलाई बेवास्ता गरेर वर्तमान अवस्थाको मूल्याङ्कन गर्न नहुने उनको भनाइ छ।

शनिबार बुटवलमा आयोजित नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर–२ को कार्यक्रममा बोल्दै भण्डारीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको मेयर हुँदा आवश्यक कर्मचारी उपलब्ध गराउन तत्कालीन राजनीतिक नेतृत्वले चासो नदेखाएको दाबी गरे।

ad

उनका अनुसार बालेन मेयर रहेका बेला महानगरपालिकामा अधिकृत पठाइदिन आग्रह गरेका थिए। त्यसका लागि आफूले विभिन्न राजनीतिक नेतृत्व, मुख्यसचिव र सचिव तहसम्म कुरा पुर्‍याए पनि नेताहरूले आफ्नो महत्त्वाकांक्षाका कारण माग सम्बोधन नगरेको भण्डारीको भनाइ थियो।

‘बालेनजी र मेरोबीच नेपालको राजनीतिको बारेमा लामो कुरा भयो। उहाँले मलाई अधिकृत पठाइदिन भनिदिन आग्रह गर्नुभयो। मैले सबै नेता, मुख्यसचिवदेखि सचिवसम्मलाई भनेँ, केपी ओली र शेरबहादुर दाइलाई पनि भनेँ, तर आफ्नो महत्त्वाकांक्षाले कसैले मानेनन्,’ उनले भने।

त्यतिबेला बालेनको आग्रह सम्बोधन भएको भए उनी दोस्रो पटक पनि मेयरमा उम्मेदवारी दिने अवस्थामा पुग्ने भण्डारीले दाबी गरे। राजनीतिक नेतृत्वले समयमै जिम्मेवारी पूरा नगर्दा त्यसको परिणाम अहिले भोग्नुपरेको उनको टिप्पणी थियो।

भण्डारीले जेनजी आन्दोलनलाई पनि विगतका राजनीतिक कमजोरीको परिणामका रूपमा व्याख्या गरे। अब विगतका गल्तीबाट पाठ सिकेर मेहनतका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो।

नेताहरू सत्ता र पैसाप्रतिको आकर्षणमा अल्झिँदा जनताका अपेक्षा पूरा हुन नसकेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा भ्युज बढाएर मात्रै सरकार सञ्चालन गर्न नसकिने बताए। सरकारको मूल्याङ्कन जनताका लागि गरिएका कामका आधारमा हुनुपर्ने उनले जोड दिए।

‘हामीले बनाएको घरभित्र बालेन आएका हुन्,’ भण्डारीले भने, ‘केपी ओलीले कीर्तिपुरको स्टेडियम बनाउन मेहनत गर्नुभयो। आफूले टुँडिखेलमा लगाएको दुबो मात्रै देख्ने प्रवृत्ति हुनुहुँदैन।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशील गुरुङले वर्तमान सरकारका गतिविधि विधिको शासनअनुसार अघि नबढेको आरोप लगाए। उनले जनताले आफ्ना अधिकार र सरोकारका विषयमा आवाज उठाउनुपर्ने बताए।

गुरुङले पार्टीभित्र पनि अराजकता बढ्दै गएको टिप्पणी गर्दै नेता तथा कार्यकर्तालाई आफ्नो व्यवहार र आचरण सुधार गर्न आग्रह गरे।