
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले रकम बुझाएर वैधानिकता प्राप्त गरेको भन्ने प्रचारलाई निराधार र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताएका छन्। पार्टीको वैधानिकतामाथि प्रश्न उठाएर बदनाम गर्ने उद्देश्यले गलत सूचना फैलाइएको उनको आरोप छ।
शुक्रबार चितवनको रत्ननगरमा कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले पार्टीविरुद्ध नियोजित रूपमा भ्रम सिर्जना गर्ने प्रयास भइरहेको बताएका हुन्।
कांग्रेसले पैसा तिरेर वैधानिकता लिएको भन्ने आरोपको खण्डन गर्दै उनले कुनै पात्रलाई अगाडि सारेर कपोलकल्पित विषयलाई प्रचारमा ल्याइएको टिप्पणी गरे।
पौडेलले कांग्रेसले सत्ताको गलत कार्य र ज्यादतीविरुद्ध निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरे। पार्टीले आर्थिक लेनदेनमार्फत वैधानिकता प्राप्त गरेको भए अहिले सरकारका गतिविधिमाथि यसरी प्रश्न उठाउन नसक्ने उनको तर्क थियो। सभापति गगन थापाले पनि सत्ताविरुद्धको आवाजलाई नेतृत्व गरिरहेको उनले बताए।
उनले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कांग्रेसको वैधानिकतामाथि विवाद सिर्जना गर्न खोजिएको दाबी गरे। पार्टीले कुनै गैरकानुनी काम गरेको भए सरकारले त्यसलाई प्रमाणसहित सार्वजनिक गरेर राजनीतिक रूपमा प्रतिवाद गर्ने अवसर नछाड्ने उनको भनाइ थियो।
यस क्रममा उनले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको बयान भनिएको अडियोको प्रसङ्गसमेत उठाए। उक्त अडियोमा गरिएको दाबी सत्य भए सरकारले प्रहरीलाई अनुसन्धान अघि बढाउन, बयान लिन र अदालतमा पेस गर्न निर्देशन दिनुपर्ने पौडेलको तर्क थियो।
तर, अडियोमा उल्लेखित विषयलाई आधिकारिक बयानका रूपमा पुष्टि गर्न प्रहरीलाई वक्तव्य नदिन लगाइएको र घटनालाई अन्योलमा राखिएको उनको आरोप छ।
‘त्यो कुरा सत्य थियो भने प्रहरीलाई छिटो–छिटो बयान लिएर अदालत लैजाऊ भनेर सत्ताले भन्थ्यो,’ पौडेलले भने।
राज्यका विभिन्न निकायमा सरकारको प्रभाव रहेको दाबी गर्दै उनले कांग्रेसविरुद्ध लगाइएका आरोप पुष्टि गर्ने प्रमाण भए सरकारले अहिलेसम्म सार्वजनिक गरिसक्ने जिकिर गरे।
प्रमाण हुँदाहुँदै पनि लामो समयसम्म विषयलाई अनिर्णीत अवस्थामा राखिनुले आरोपको विश्वसनीयतामाथि प्रश्न उठ्ने उनको भनाइ थियो।
पौडेलको अभिव्यक्तिले कांग्रेसको वैधानिकतासम्बन्धी विवाद र इनम सापकोटाको भनिएको अडियो प्रकरणलाई लिएर सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच बढिरहेको राजनीतिक आरोप–प्रत्यारोपलाई थप सतहमा ल्याएको छ।









Facebook Comments