काठमाडौं । व्यवसायी दीपक भट्टको थुनासम्बन्धी विवादमा सर्वोच्च अदालतले सम्बन्धित मुद्दाका प्रमाण मिसिल झिकाउन आदेश दिएको छ। सर्वोच्चले सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरसम्बन्धी मुद्दाका कागजात विशेष अदालत काठमाडौं र उच्च अदालत पाटनबाट मगाउने निर्णय गरेको हो।

बुधबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले भट्टका बुबा चतुर्भुज भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। रिटमा विशेष अदालत काठमाडौंसहितलाई विपक्षी बनाइएको छ।

ad

इजलासले नेपाल सरकार वादी रहेको र दीपक भट्टसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सुरु प्रमाण मिसिल विशेष अदालत काठमाडौंबाट झिकाउन भनेको छ। मुद्दा नम्बर ०८२-CR-०१५४ को उक्त मिसिल सुनुवाइका दिन देखाएर फिर्ता लैजाने गरी उपलब्ध गराउन आदेश गरिएको छ।

त्यस्तै, भट्टसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाको प्रमाण मिसिल पनि उच्च अदालत पाटनबाट मगाइएको छ। मुद्दा नम्बर ०८२-CB-००४८ को उक्त मिसिलसमेत पेसीका दिन प्रस्तुत गर्न अदालतले आदेश दिएको छ।

सर्वोच्चले यसअघि विचाराधीन रहेका मुद्दा नम्बर ०८३-RE-००२१ र ०८३-RE-००२२ का बेरीतको आदेश बदरसम्बन्धी निवेदनलाई समेत बन्दीप्रत्यक्षीकरण रिटसँगै लगाउमा राखेर नियमानुसार पेस गर्न निर्देशन दिएको छ।

सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरसम्बन्धी मुद्दामा न्यायिक हिरासतमा रहेका भट्टको थुना गैरकानुनी भएको दाबी गर्दै उनका बुबाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए।

रिटमार्फत भट्टलाई गैरकानुनी रूपमा थुनामा राखिएको जिकिर गर्दै थुनामुक्त गर्न माग गरिएको छ। सर्वोच्चले सम्बन्धित अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश दिएसँगै अब ती कागजातको अध्ययनपछि रिटमाथिको सुनुवाइ अघि बढ्नेछ।