काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा बिचौलियासँग आर्थिक लेनदेन भएको भन्ने आरोपलाई हल्लाकै आधारमा सत्य मान्न नहुने बताएका छन्।

कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सबै प्रक्रिया पार्टीको विधान, पद्धति र संविधानअनुसार सम्पन्न भएको दाबी गरे।

ad

उनले महाधिवेशन प्रतिनिधिहरूको सक्रिय सहभागिता र योगदानबाट पार्टीका महाधिवेशनहरू सम्पन्न भएको उल्लेख गर्दै विवादका विषयमा प्रमाण र कानुनी आधारबिना धारणा बनाउन नहुनेमा जोड दिए।

पार्टी सभापति गगन थापामाथि आधिकारिकता विवाद टुङ्ग्याउने क्रममा बिचौलियासँग १८ करोड रुपैयाँको चलखेल गरेको आरोप सार्वजनिक भइरहेका बेला शर्माले त्यसको विश्वसनीयतामाथि प्रश्न उठाएका हुन्।

‘एउटा बिचौलियाले कहीँ भन्यो अरे भन्दैमा त्यसलाई अदालतले मान्छ कि मान्दैन? कानुनले मान्छ कि मान्दैन? सामाजिक सञ्जालका मान्छे त्यसैको होहल्लामा कुद्नुहुन्छ कि हुँदैन?’ उनले प्रश्न गरे।

शर्माले कांग्रेस अब सभापति थापाको नेतृत्वमा स्पष्ट योजना र नयाँ दृष्टिकोणसहित अघि बढ्नुपर्ने बताए। देशमा परिवर्तनको चाहना र नयाँ सपना बोकेका नेतृत्वलाई साथ दिँदै पार्टीलाई नयाँ दिशामा लैजानुपर्ने उनको भनाइ थियो।

उनले केन्द्रीय समितिमा रहेका नेताहरू पार्टीको संगठन सुदृढीकरण, गतिविधि सञ्चालन र भावी कार्ययोजनालाई व्यवस्थित बनाउन प्रतिबद्ध रहेको पनि बताए।

पार्टीभित्रका विषयलाई हतारमा टुङ्ग्याउनेभन्दा अध्ययन, मेहनत र आपसी संवादका माध्यमबाट समाधान खोज्दै अघि बढ्नुपर्ने शर्माले धारणा राखे।