
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी प्रदेशसभा निर्वाचनसम्म मधेश प्रदेश सरकारमा सहभागी नहुने पार्टीको निर्णय सार्वजनिक गरेका छन्। उनले पार्टीको नीतिविपरीत सरकारमा सहभागी हुन खोज्ने सांसदलाई राजीनामा दिन वा पार्टी छाड्नसमेत चुनौती दिएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राउतले मुख्यमन्त्री तथा मन्त्री पदको प्रस्ताव आए पनि जनमत पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन्।
प्रदेश निर्वाचन आउन अब करिब ६–७ महिना मात्रै बाँकी रहेको उल्लेख गर्दै उनले यो समय सत्ता र मन्त्रालयको भागबन्डामा बिताउनुभन्दा जनतामाझ पुगेर अधिकारका पक्षमा आवाज उठाउने बेला भएको बताएका छन्।
राउतले अहिले सरकारमा जानेभन्दा संगठन विस्तार र राजनीतिक अभियानलाई बलियो बनाउने कामलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्। मन्त्रालयको लोभमा सरकारमा सहभागी हुने प्रयासलाई उनले पार्टी र जनताको हितविपरीतको कदमका रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार विगतमा सत्ता र पदका लागि गरिएका राजनीतिक गतिविधिबाट पाठ सिक्दै अब जनताको अधिकारका लागि संघर्ष गर्न आवश्यक छ। सरकारमा सहभागी भएर केही मन्त्रालय लिनु मात्रै राजनीतिक उपलब्धि हुन नसक्ने उनको तर्क छ।
राउतले मधेश केन्द्रित दलहरूलाई विभाजन गर्ने र एकअर्कामा विलय गराएर राजनीतिक रूपमा कमजोर बनाउने प्रयास भइरहेको आरोपसमेत लगाएका छन्। लुम्बिनी प्रदेशमा मधेश केन्द्रित दलहरूलाई विभाजित गरिएको प्रसङ्ग उल्लेख गर्दै उनले यस्ता राजनीतिक गतिविधिप्रति सचेत रहन मधेशी दल तथा नेताहरूलाई आग्रह गरेका छन्।
उनले मधेशको राजनीतिक शक्ति कमजोर बनाउने प्रयासमा फेरि पनि फस्न नहुने बताएका छन्। अग्रगामी मोर्चाले समेत सरकारमा सहभागिताका विषयमा स्पष्ट निर्णय गरिसकेको उल्लेख गर्दै राउतले उक्त निर्णयबाट पछि हट्न नहुने धारणा व्यक्त गरेका छन्।
पछिल्लो समय मधेश प्रदेश सरकारमा जनमत पार्टीको सहभागिताबारे सार्वजनिक भइरहेका चर्चालाई उनले मिडिया ट्रायलको संज्ञा दिएका छन्। त्यस्ता समाचार केवल चर्चामै सीमित रहून् भन्ने आफ्नो अपेक्षा रहेको पनि उनले बताएका छन्।
राउतको पछिल्लो अभिव्यक्तिले मधेश प्रदेशको सत्ता समीकरण र आगामी निर्वाचनअघि जनमत पार्टीले अपनाउने राजनीतिक रणनीतिबारे पार्टीको धारणा स्पष्ट पारेको छ।









Facebook Comments