काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले काठमाडौं जिल्ला अधिवेशन सुरु गरेको छ। शनिबार दिउँसो काठमाडौंस्थित राष्ट्रियसभा गृहमा आयोजित अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ।

अधिवेशनको उद्घाटन सत्रमा पूर्वसभापति शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा उपस्थित भएका छन्। त्यस्तै, देउवा समूहको १५औँ महाधिवेशनका संयोजक शशांक कोइराला, पूर्वउपसभापति प्रकाशमान सिंह, नेता प्रकाशशरण महतलगायत नेताहरू पनि कार्यक्रममा सहभागी छन्।

ad

अधिवेशनमा सहभागी हुन काठमाडौं जिल्लाका विभिन्न पालिकाबाट नेता तथा कार्यकर्ताहरू बाजागाजा र मोटरसाइकल र्‍यालीसहित राष्ट्रियसभा गृह पुगेका थिए।

अधिवेशनबाट काठमाडौं जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन गरिने नेताहरूले बताएका छन्।

कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधरले छुट्टै प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरी पार्टीका गतिविधि अघि बढाइरहेका बेला देउवा समूहले पनि संगठनका विभिन्न तहमा अधिवेशनलाई निरन्तरता दिएको हो।

देउवा समूहले आगामी मंसिरमा १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। विशेष महाधिवेशन पक्षधरले अघि बढाएको महाधिवेशन प्रक्रिया विधानसम्मत नरहेको देउवा समूहको दाबी छ।

यससँगै नेपाली कांग्रेसभित्र संगठनात्मक संरचना र नेतृत्वको वैधानिकतासम्बन्धी विवादका बीच दुवै पक्षले आ–आफ्नो राजनीतिक तथा सांगठनिक गतिविधि अघि बढाइरहेका छन्।