
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य सञ्चालनमा विवेकहीन, अराजक र निरंकुश प्रवृत्ति हाबी हुँदै गएको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा दीपेन्द्र रोकाया र मोहन दास मानन्धरद्वारा लिखित पुस्तक ‘कर्णाली उपेक्षा र उज्यालो’को लोकार्पण कार्यक्रममा बोल्दै प्रचण्डले विगतका वर्षमा सुशासन र विकासका क्षेत्रमा भएका कामलाई पूर्णतः बेवास्ता गर्ने प्रवृत्ति बढेको टिप्पणी गरे।
उनले आफ्नो नेतृत्वमा रहेको सरकारले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दै सुशासन कायम गर्ने प्रयास गर्दा सरकारबाट हटाइएको दाबीसमेत गरे।
वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले सरकारका गतिविधि हिन्दी जासुसी चलचित्रजस्तै देखिन थालेको टिप्पणी गरे। सरकारले अस्वाभाविक र अनौठा गतिविधि देखाउन थालेको उनको भनाइ थियो।
सुशासनका पक्षमा आफूहरूले थालेको अभियानकै कारण सरकारबाट हट्नुपरेको उल्लेख गर्दै उनले त्यसपछि देश गलत दिशातर्फ अघि बढेको दाबी गरे।
कार्यक्रममा प्रचण्डले कर्णालीको विकासका लागि आफूले विगतदेखि नै प्राथमिकताका साथ काम गर्दै आएको बताए। शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा कर्णालीले उल्लेखनीय प्रगति हासिल गरेको उनको भनाइ थियो।
कर्णालीको विकासमा विगतका प्रयास र उपलब्धिलाई निरन्तरता दिँदै थप योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए।









Facebook Comments