
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार र पार्टीबीच कुनै मतभेद वा टकराव नरहेको दाबी गर्दै सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको नीति रहेको बताएका छन्।
बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पार्टी र सरकारको जिम्मेवारी तथा कार्यक्षेत्र फरक रहेको उल्लेख गर्दै सरकारको दैनिक कामकारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने स्पष्ट पारे।
उनका अनुसार सरकार सञ्चालनका विषयमा पार्टीले अनावश्यक हस्तक्षेप गर्नेभन्दा पनि सरकारलाई आफ्नो जिम्मेवारी पूरा गर्न सहज वातावरण बनाउनु आवश्यक छ।
‘राजनीतिमा सरकार टिकाउन वा पार्टीभित्र एकता कायम राख्न प्रधानमन्त्रीसँगै अर्को व्यक्तिलाई कुर्सीमा राखेर काम गराउने अभ्यासको पक्षमा हामी छैनौँ,’ लामिछानेले भने।
सरकार र पार्टीबीच कहिलेकाहीँ कुनै विषयमा प्रश्न, जिज्ञासा वा स्पष्टताको आवश्यकता देखिए आपसी छलफल हुने गरेको उनले बताए। दुवै पक्षबीच नियमित भेटघाट र समन्वय भइरहेको उनको भनाइ छ।
‘कहिलेकाहीँ प्रश्न आए, जिज्ञासा रहे वा स्पष्टता चाहियो भने हामी बसेर कुराकानी गर्छौं। हामीबीच भेटघाट भइरहन्छ, समन्वयको कुनै कमी छैन,’ उनले भने।
लामिछानेले सरकार र पार्टीबीच द्वन्द्व रहेको भन्ने चर्चालाई पनि अस्वीकार गरे। पार्टीको मुख्य प्राथमिकता सरकारले प्रभावकारी रूपमा काम गर्न पाउनुपर्ने रहेको उनको भनाइ थियो।
उनले राज्यका संस्थाहरूको भूमिका र स्वायत्ततालाई पनि महत्त्वपूर्ण रूपमा उठाए। कुनै निकायबाट गल्ती भए त्यसलाई सच्याउने संस्थागत व्यवस्था रहेकाले प्रहरी प्रशासन, अदालत र प्रेस काउन्सिलजस्ता निकायलाई विश्वास गर्दै थप बलियो बनाउनुपर्ने उनले बताए।
सरकारले विधिको शासनलाई आधार बनाएर काम गर्नुपर्नेमा जोड दिँदै लामिछानेले परिपक्व राजनीतिक अभ्यासमार्फत सरकार सञ्चालन हुनुपर्ने धारणा राखे।
उनको अभिव्यक्तिले सरकारको कामकारबाहीमा पार्टीको प्रत्यक्ष हस्तक्षेप नहुने तर आवश्यक विषयमा नेतृत्व तहमा छलफल र समन्वय जारी रहने रास्वपाको नीतिलाई स्पष्ट पार्न खोजेको देखिन्छ।









Facebook Comments