काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारका गतिविधिबाट उत्पन्न कानुनी तथा नैतिक प्रश्नको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिनुपर्ने बताएकी छन्। उनले सरकारको कमजोरीबारे आफूहरू जानकार नभएको भन्दै रास्वपाका नेताहरू पन्छिन नमिल्ने टिप्पणी गरेकी छन्।

काठमाडौंमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले प्रहरी अनुसन्धानमा रहेको व्यक्तिको मोबाइल फोन दुई दिनसम्म प्रधानमन्त्रीका सल्लाहकारको निजी निवासमा राखिएको घटनालाई गम्भीर रूपमा उठाएकी हुन्।

ad

उनले अनुसन्धानका क्रममा रहेको व्यक्तिको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको घरसम्म कसरी पुग्यो र कुन प्रयोजनका लागि त्यहाँ राखियो भन्ने विषय सरकारले स्पष्ट पार्नुपर्ने बताइन्।

सुशासनको नारा दिएर सत्तामा पुगेको सरकार अहिले आफैँ कानुनी र नैतिक प्रश्नको सामना गर्नुपर्ने अवस्थामा पुगेको उनको टिप्पणी थियो।

‘आफूले गल्ती गर्ने, कमजोरी गर्ने अनि त्यसलाई लुकाउन फेरि अर्को कमजोरी गर्ने हो भने एकपछि अर्को कमजोरीको चाङ लाग्दै जान्छ। यसबाट सरकारले उन्मुक्ति पाउन सक्दैन,’ अर्यालले भनिन्।

उनले नेपाल प्रहरी कुनै प्रधानमन्त्री, सरकार वा राजनीतिक दलको निजी संस्था नभई राज्यको व्यावसायिक र स्वतन्त्र निकाय भएको स्मरण गराइन्। प्रहरीलाई राजनीतिक दबाब र त्रासबाट मुक्त राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

प्रहरी संगठनभित्रका अधिकारीले योग्यता र क्षमताका आधारमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले पछिल्ला घटनाले सुरक्षा निकायको मनोबल कमजोर पार्न सक्ने बताइन्।

‘शान्ति सुरक्षा कायम गर्ने निकायलाई सुरक्षित महसुस गराउँदै योग्यता र क्षमता प्रदर्शन गरेर काम गर्ने वातावरण बनाउनुपर्ने हो। तर यस्ता घटनाले मनोबल गिराउने, त्रास सिर्जना गर्ने र हतोत्साहित बनाउने काम गर्छन्,’ उनले भनिन्।

अर्यालले सरकारको जिम्मेवारीबाट रास्वपा अलग हुन खोजेको भन्दै त्यसप्रति पनि आपत्ति जनाइन्। रास्वपाका नेताहरूले सरकारका गतिविधिबारे आफूहरू जानकार नभएको वा सरकार एमाले र कांग्रेसको भएको जस्तो गरी प्रस्तुत हुन खोजेको उनको आरोप थियो।

‘यो रास्वपाको सरकार हो। सरकारले गरेका कामको जवाफदेहिता पार्टीले लिनुपर्छ। सरकारका गतिविधिबारे हामी जान्दैनौँ भनेर रास्वपा उम्किन पाउँदैन,’ उनले भनिन्।

सरकारको नेतृत्व गर्ने दलले आफ्ना निर्णय र गतिविधिको राजनीतिक तथा नैतिक जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै अर्यालले पछिल्लो घटनाबारे रास्वपाले स्पष्ट जवाफ दिनुपर्ने बताइन्।