
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मुलुकको पछिल्लो शान्ति–सुरक्षा अवस्था र आगामी चाडपर्वलाई लक्षित सुरक्षा तयारीबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखबाट समग्र सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।
छलफलमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी थिए।
ब्रिफिङपछि प्रधानमन्त्री शाहले चाडपर्वका समयमा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएका छन्। उनले अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउँदै सम्भावित सुरक्षा चुनौतीको पहिचान र नियन्त्रणका लागि पूर्वतयारी अवस्थामा रहन सुरक्षा निकायलाई आग्रह गरेका छन्।
त्यसैगरी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच समन्वय, सहकार्य तथा सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न तथा नागरिकलाई सुरक्षित वातावरणमा आवतजावत र चाडपर्व मनाउने अवस्था सुनिश्चित गर्न सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन प्रधानमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम राख्ने जिम्मेवारीमा रहेका निकायलाई थप सक्रिय र जिम्मेवार भएर काम गर्नसमेत निर्देशन दिएका छन्।









Facebook Comments