काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने सरकारको निर्णयप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। सरकारले आफूले भनेअनुसार काम गराउने उद्देश्यले नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हुन सक्ने उनको संकेत छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले नयाँ आईजीपी नियुक्तिबारे आफ्नो धारणा राखेका हुन्।

ad

सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर एआईजी मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेको विषयमा पत्रकारले जिज्ञासा राखेका थिए।

जवाफमा ओलीले भने, ‘उहाँहरूले अह्राएको गर्छ भनेर बनाएको होला।’

ओलीको यो अभिव्यक्ति प्रहरी नेतृत्व परिवर्तनलाई लिएर सरकारको निर्णयमाथि गरिएको राजनीतिक टिप्पणीका रूपमा आएको छ।

सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने र उनको स्थानमा केसीलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको थियो। उक्त निर्णयपछि विभिन्न राजनीतिक दलका नेता तथा सरोकारवालाले कानुनी आधार र औचित्यमाथि प्रश्न उठाउँदै आएका छन्।

यसैबीच, ओलीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग भएको भेटवार्ताबारे पनि प्रतिक्रिया दिएका छन्। मंगलबार थापासँग भएको भेटबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले छलफल सकारात्मक रहेको बताए।

‘गगन थापासँग राम्रो कुरा भयो। राजनीतिक कुरा भए,’ ओलीले भने। भेटमा भएका राजनीतिक विषयबारे भने उनले थप विवरण खुलाएका छैनन्।