
काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीको विधान, विधि र स्थापित प्रक्रियाअनुसार नै १५औँ महाधिवेशन सम्पन्न गर्ने दाबी गरेको छ। समूहले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने तयारी तीव्र पारिएको जनाएको छ।
मंगलबार चूनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता प्रकाशशरण महतले पार्टीको विचार, सिद्धान्त र विधानलाई आधार बनाएर महाधिवेशन अघि बढाइने स्पष्ट पारे।
उनका अनुसार पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा महाधिवेशन सम्पन्न हुनेछ भने महाधिवेशनको दैनिक व्यवस्थापन तथा सञ्चालनका लागि डा. शशांक कोइरालाको संयोजकत्वमा आवश्यक काम भइरहेको छ।
महतले महाधिवेशनको तयारीअन्तर्गत अहिलेसम्म ६१८ वटा पालिका, २२८ स्थानमा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र ११४ वटा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए।
उनले यी अधिवेशनहरू पार्टीकै साधनस्रोत परिचालन गरेर उत्साहजनक सहभागिताका साथ सम्पन्न गरिएको दाबी गरे। महाधिवेशनको तयारीमा पार्टीका नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता रहेको उनको भनाइ थियो।
पत्रकार सम्मेलनमा महतले १५औँ महाधिवेशनले नेपाली कांग्रेसको मूल मान्यता, वैचारिक आधार, विधि र पार्टी सञ्चालन पद्धतिको संरक्षण गर्ने बताए।
पार्टीको आधिकारिकताबारे दाबी गरिरहेको अर्को पक्षप्रति असन्तुष्टि व्यक्त गर्दै उनले वैचारिक र कानुनी दुवै दृष्टिकोणबाट उक्त पक्षको अडान सही नभएको आरोप लगाए। कांग्रेसको नाम र आधिकारिकताको दाबी गर्दैमा पार्टीको मूल विचार र आत्मा प्रतिनिधित्व नहुने उनको तर्क थियो।
देउवा समूहले पार्टीको आन्तरिक प्रक्रिया र विधानलाई प्राथमिकतामा राखेर महाधिवेशन सम्पन्न गर्ने अडान दोहोर्याएको छ। पछिल्लो समय कांग्रेसभित्र देखिएको विवादका बीच महाधिवेशनको तयारी र नेतृत्वको वैधानिकतासम्बन्धी विषयले पार्टीभित्रको राजनीतिक बहसलाई थप चासोको विषय बनाएको छ।









Facebook Comments