
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसहित विभिन्न कम्युनिस्ट घटकलाई एकताबद्ध हुन आह्वान गरेका छन्। उनले विगतका राजनीतिक तिक्तता, असमझदारी र पूर्वाग्रह त्यागेर कम्युनिस्ट शक्तिहरू एउटै धारमा उभिनुपर्ने बताएका छन्।
मंगलबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग भएको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट एकताको दायरा अझ फराकिलो बनाउने अभियानमा आफ्नो पार्टी अघि बढेको बताए।
उनले एमाले, माओवादी घटकसहित सबै कम्युनिस्ट शक्तिलाई एकता प्रक्रियामा सहभागी हुन आग्रह गरे। राष्ट्रको हित र जनताको मुक्तिका लागि क्रान्तिकारी शक्तिहरूबीच सहकार्य र एकता आवश्यक रहेको उनको भनाइ थियो।
प्रचण्डले विगतका राजनीतिक उतारचढाव, असहजता र संकीर्ण सोचलाई त्यागेर पूर्वाग्रहरहित ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। उनका अनुसार अहिलेको राष्ट्रिय परिस्थितिमा कम्युनिस्ट शक्तिबीचको एकता मात्र नभई देशभक्त तथा लोकतन्त्रवादी शक्तिबीचको सहकार्य पनि आवश्यक छ।
देश असाधारण संकटबाट गुज्रिरहेको उल्लेख गर्दै उनले राजनीतिक क्षेत्रमा विवेक र राज्य सञ्चालनमा विचारको अभाव देखिएको टिप्पणी गरे। आवेग, आग्रह–पूर्वाग्रह, निरंकुशता र अराजक प्रवृत्तिले समाजलाई प्रभावित पारिरहेको उनको भनाइ थियो।
यस्ता प्रवृत्तिविरुद्ध विचार र सिद्धान्तमा आधारित राजनीति गर्ने शक्तिहरू साझा मोर्चामा उभिनुपर्ने प्रचण्डले बताए। एकता अभियानलाई सफल बनाउन नेताहरूले व्यक्तिगत महत्त्वाकांक्षाभन्दा सामूहिक उद्देश्यलाई प्राथमिकता दिनुपर्ने उनको धारणा थियो।
उनले नेतृत्वमा रहेका व्यक्तिहरूले एकअर्काको क्षमता र योगदानको सम्मान गर्दै निस्वार्थ भावनाका साथ पार्टी एकता र आन्दोलनलाई अघि बढाउनुपर्ने पनि उल्लेख गरे।
एकता सभामा सहभागी हुँदै उमा भुजेलले माओवादी घटकहरूबीच एकता अपरिहार्य रहेको बताइन्। उनले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन विभाजित शक्तिहरू एक ठाउँमा आउनुपर्ने धारणा राखिन्।
एकतासम्बन्धी १० बुँदे सहमतिपत्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव उमा भुजेल तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्।
उक्त सहमतिसँगै दुई पार्टीबीचको एकता प्रक्रियाले औपचारिक रूप लिएको छ। प्रचण्डले यसलाई अन्य कम्युनिस्ट घटकलाई समेत समेट्दै एकताको दायरा विस्तार गर्ने अभियानका रूपमा अघि बढाउने बताएका छन्।









Facebook Comments