काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति गगन थापासँग भएको भेटवार्ता सकारात्मक रहेको बताएका छन्।

मंगलबार भएको भेटबारे बुधबार सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले थापासँग राजनीतिक विषयमा राम्रो छलफल भएको जानकारी दिए।

ad

‘उहाँसँग खास राम्रो कुरा भयो, राजनीतिक कुराकानीहरू भए,’ ओलीले सञ्चारकर्मीसँग भने।

ओली र थापाबीचको भेटलाई पछिल्लो राजनीतिक घटनाक्रमका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि भेटमा भएका छलफलका विस्तृत विषय भने सार्वजनिक गरिएको छैन।

यसैबीच, नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले सरकारप्रति व्यङ्ग्य गरेका छन्।

डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको विषयमा टिप्पणी गर्दै ओलीले नियुक्तिको उद्देश्यप्रति प्रश्न उठाए।

‘उहाँहरूले अह्राएको काम गर्छ भनेर बनाएको होला,’ उनले भने।

ओलीको यो अभिव्यक्तिलाई बालेन्द्र शाह नेतृत्वको सरकारप्रतिको व्यङ्ग्यात्मक टिप्पणीका रूपमा हेरिएको छ।