
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउने सरकारको निर्णयप्रति राष्ट्रिय जेन्जी नागरिक अभियानले असन्तुष्टि जनाएको छ। अभियानले मन्त्रिपरिषद्को निर्णय पुनर्विचार गरी प्रहरी संगठनको संस्थागत मर्यादा कायम राख्न सरकारसँग माग गरेको छ।
अभियानले प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रमुखको जिम्मेवारी परिवर्तनलाई सामान्य प्रशासनिक फेरबदलका रूपमा मात्र लिन नमिल्ने जनाएको छ। यस्तो निर्णयले प्रहरी संगठनको व्यावसायिक स्वतन्त्रता, संस्थागत स्वायत्तता र कर्मचारीको मनोबलमा असर पार्न सक्ने उसको भनाइ छ।
प्रहरी संगठनलाई राजनीतिक स्वार्थअनुसार सञ्चालन गर्ने उद्देश्यले नेतृत्व परिवर्तन गरिएको हो कि भन्ने आशंका व्यक्त गर्दै अभियानले सरकारको कदमप्रति गम्भीर प्रश्न उठाएको छ।
कुनै प्रहरी अधिकारीले गल्ती गरेको वा कानुनविपरीत काम गरेको भए त्यसको निष्पक्ष छानबिन हुनुपर्ने अभियानको धारणा छ। तथ्य र प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाउनुको सट्टा स्थापित विधि र प्रक्रियालाई बेवास्ता गरेर जिम्मेवारी हेरफेर गर्नु उचित नहुने विज्ञप्तिमा उल्लेख छ।
अभियानले नेपाल प्रहरी कुनै व्यक्ति वा सरकारको निजी स्वार्थ पूरा गर्ने संस्था नभई राज्य र नागरिकको सुरक्षाका लागि जिम्मेवार संगठन भएको स्मरण गराएको छ।
प्रहरीको व्यावसायिकता, निष्पक्षता र संस्थागत गरिमामाथि असर पर्ने गरी निर्णय नगर्न सरकारलाई आग्रह गर्दै अभियानले विधिको शासन र प्रहरी संगठनको स्वतन्त्रताको सम्मान गर्नुपर्ने जनाएको छ।
सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने निर्णय गरेपछि राजनीतिक दल, कानुन व्यवसायी तथा विभिन्न नागरिक समूहबाट समेत प्रतिक्रिया आइरहेका बेला राष्ट्रिय जेन्जी नागरिक अभियानले पनि निर्णयप्रति आपत्ति जनाएको हो।
अभियानले प्रहरी संगठनको संस्थागत मर्यादा र व्यावसायिक स्वतन्त्रतालाई ध्यानमा राख्दै मन्त्रिपरिषद्को निर्णय तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेको छ।









Facebook Comments