
काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्को बैठक यथाशीघ्र आह्वान गर्न सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग आग्रह गरेका छन्।
सभामुख अर्यालसँग आज भएको भेटमा नेता आङ्देम्बेले समसामयिक राजनीतिक घटनाक्रम र जनसरोकारका विषयमा संसद्मा छलफल गर्नुपर्ने आवश्यकता औँल्याउँदै बैठक बोलाउन आग्रह गरेका हुन्।
उनले संसद्लाई छलेर अध्यादेशमार्फत विभिन्न विषय अघि बढाउने प्रवृत्ति लोकतन्त्रको मर्म र संसदीय अभ्यासअनुकूल नहुने धारणा राखेका थिए।
त्यसैगरी, भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका समस्या र उनीहरूको अवस्थाबारे पनि संसद्मा गम्भीर छलफल हुनुपर्नेमा आङ्देम्बेले जोड दिएका थिए।
यसैबीच, आजै नेकपा एमालेका संसदीय दलका उपनेता पद्मा अर्याल र गुरु बरालले पनि सभामुख अर्यालसँग भेट गरेका छन्।
सभामुखको कार्यकक्षमा भएको उक्त भेटमा समसामयिक राजनीतिक परिस्थिति तथा संसदीय गतिविधिका विषयमा छलफल भएको जनाइएको छ।
पछिल्लो समय संसद्को बैठक र अध्यादेशमार्फत अघि बढाइएका सरकारी निर्णयबारे राजनीतिक दलहरूले चासो व्यक्त गरिरहेका बेला सभामुखसँग भएका यी भेटलाई संसदीय गतिविधिसँग जोडेर हेरिएको छ।









Facebook Comments