
काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकप्टर एकआपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार तीनै जनाको स्वास्थ्य अवस्था स्थिर र खतरामुक्त छ।
दुर्घटनामा फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, एयर डाइनेस्टीका पाइलट प्रज्ज्वल केसी र न्यूजिल्याण्डका नागरिक शैलेश किसन पटेल घाइते भएका थिए।
नेपाल मेडिसिटी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणाका अनुसार घाइते तीनै जनालाई प्रभु हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको थियो। अस्पताल ल्याएलगत्तै उनीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण र चिकित्सकीय मूल्याङ्कन गरिएको थियो।
प्रारम्भिक परीक्षणपछि तीनै जनाको अवस्था स्थिर रहेको र तत्काल जोखिम नरहेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार घाइतेहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै थप परीक्षण तथा आवश्यक उपचार अघि बढाइनेछ। उनीहरूलाई चिकित्सकीय निगरानीमा राखेर स्वास्थ्य अवस्थाको निरन्तर मूल्याङ्कन गरिने पनि अस्पतालले जानकारी दिएको छ।









Facebook Comments