
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक वृत्तमा नैतिकता र आचारसंहिता उल्लंघनको आरोपमा नाम जोडिएका न्यायाधीशहरुमाथि तत्काल छानबिन गर्न माग गरेको छ ।
आज एक विज्ञप्ति जारी गरी ट्रान्सपरेन्सीले न्यायाधीशहरुरूमाथि प्रश्न उठेमा अनुसन्धान गर्ने निकाय संसद् रहेको भन्दै संसदले तत्काल संसदीय समितिमार्फत अनुसन्धान गरी आवश्यक निर्णय लिनुपर्ने जनाएको छ । ट्रान्सपरेन्सीले सञ्चारमाध्यमका समाचारहरुमा जोडिएका र आफूले स्पष्टीकरण दिएका न्यायाधीशहरूले इमान्दारिता प्रदर्शन गरी प्रश्नहरुको समाधान नभएसम्म न्यायसम्पादनको काममा संलग्न नहुन पनि विज्ञप्तिमार्फत सुझाव दिएको छ।
विचाराधीन मुद्दासँग सम्बन्धित पक्ष, बिचौलिया वा प्रभावकारी व्यक्तिहरुसँग भेट्नु वा सम्पर्कमा आउनु आचारसंहिताका दृष्टिकोणले उचित नहुने उल्लेख गर्दै ट्रान्सपरेन्सीले यस्तो अवस्थामा छानबिन अघि बढाउनुपर्ने स्पष्ट पारेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘उठेका प्रश्नहरू गम्भीर प्रकृतिका भएका र न्यायालयको आमूल सुधार अत्यावश्यक रहेको तथ्य जगजाहेर रहेको सन्दर्भमा आक्षेप लागेका व्यक्तिहरुले दिएका सार्वजनिक स्पष्टीकरणहरूले मात्र उठेका प्रश्नहरूको समाधान दिन सक्ने अवस्था देखिँदैन ।’ ट्रान्सपरेन्सीले सम्बन्धित न्यायाधीशहरूको सम्पत्तिको छानबिन गर्न पनि माग गरेको छ ।









Facebook Comments