मनाङ । हिमाली क्षेत्रमा भएको भारी हिमपातका कारण मनाङको माथिल्लो भेगको पदयात्रा प्रभावित भएको छ। पर्यटकीय गन्तव्यतर्फ जाने पदमार्ग हिउँले ढाकिएपछि भ्रमणमा आएका करिब २०० पर्यटक मनाङ गाउँमै रोकिएका छन्।

बङ्गालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले हिमाली क्षेत्रमा हिमपात भएपछि पर्यटकको आवागमन प्रभावित भएको हो। बाक्लो हिउँ जमेर पदमार्गसमेत छोपिएपछि जोखिम बढेको भन्दै माथिल्लो मनाङतर्फको पदयात्रा नगर्न आग्रह गरिएको छ।

ad

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार माथिल्लो मनाङमा हिमपात भएपछि पर्यटकलाई सुरक्षित स्थानमै बस्न भनिएको छ। उनका अनुसार अहिले करिब २०० पर्यटक मनाङ गाउँमा रोकिएका छन्।

‘करिब २०० पर्यटक अहिले मनाङ गाउँमा बसिरहेका छन्। हिउँ बाक्लो परेकाले मौसममा सुधार हुँदै गए पनि हिँड्न सक्ने अवस्था छैन,’ भुजेलले बताए। मौसम केही खुले पनि जोखिम मोलेर गन्तव्यतर्फ जान खोज्ने पर्यटकसमेत रहेको उनले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय मनाङले पनि पर्यटक तथा स्थानीयलाई अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको चेतावनीलाई ध्यानमा राख्दै सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन अनुरोध गरिएको हो।

‘मौसममा केही सुधार आएको छ। तर पर्यटक तथा स्थानीयलाई आवतजावत गर्न र गन्तव्यमा जान दिने अवस्था बनिसकेको छैन,’ खनालले भने, ‘हिउँ बाक्लो छ। पदयात्रामा जाने पदमार्गका संकेत र नक्सासमेत हिउँले छोपिएकाले जोखिम कायमै छ।’

प्रशासनले होटल व्यवसायीलाई समेत पर्यटकलाई सुरक्षित स्थानमा बस्न र जोखिमपूर्ण यात्रामा ननिस्कन जानकारी गराउन आग्रह गरेको छ। मौसम पूर्ण रूपमा अनुकूल नभएसम्म माथिल्लो क्षेत्रको पदयात्रा नगर्न पर्यटकलाई सचेत गराइएको छ।

जिल्ला प्रशासनका अनुसार बिहीबार साँझदेखि सुरु भएको हल्का हिमपात शुक्रबार र शनिबार बिहानसम्म भारी बनेको थियो। निरन्तरको हिमपातले पर्यटकीय गतिविधि मात्र नभई स्थानीयको दैनिक जनजीवनसमेत प्रभावित भएको छ।

मौसममा केही सुधार देखिए पनि पदमार्गमा जमेको हिउँ नपग्लिएसम्म यात्रा सुरक्षित नहुने प्रशासनको भनाइ छ। त्यसैले पर्यटकलाई हतारमा गन्तव्यतर्फ लाग्नुभन्दा मौसम र सुरक्षा अवस्थालाई प्राथमिकता दिन आग्रह गरिएको छ।