'छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६' आगामी डिसेम्बर ४ र ५ (मंसिर १८-१९, २०८३ विसं) मा ऐतिहासिक सहर जनकपुरधाममा आयोजना हुने भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजना, मधेस सरकार र मधेस इन्स्टिच्युट अफ हेल्थ साइन्सेसको सहकार्य तथा नेपाल सरकार, मधेस प्रदेशका स्थानीय निकायहरू एवं अन्य संघसंस्थाको सहयोगमा सम्मेलन हुन लागेको हो।

ad

हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले मधेस प्रदेशको राजधानीमा यो कार्यक्रम गर्न लागिएको हो।

सम्मेलनको मुख्य नारा ‘रिभर्स माइग्रेसन विथ ग्लोबल कोल्याबरेसन’ (Reverse Migration with Global Collaboration) र मूल सन्देश नेपाल अब ‘ब्रेन ड्रेन’बाट ‘ब्रेन सर्कुलेसन’ हुँदै ‘ब्रेन गेन’तर्फ अघि बढ्नुपर्ने रहेको छ।

सम्मेलनमा नेपाली स्वास्थ्यकर्मीहरूको विदेश पलायनलाई मानव स्रोतको क्षतिका रूपमा मात्र नहेरी ज्ञान हस्तान्तरण, क्षमता विकास, नवप्रवर्तन, लगानी र स्वास्थ्य प्रणाली सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्ने विषयमा विस्तृत छलफल गरिनेछ।

बुधवार भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयोजक समितिका अध्यक्ष प्रा. डा. सुनिल साहले नेपाल र विश्वभर रहेका स्वास्थ्य क्षेत्रका विज्ञलाई जनकपुरमा सहभागी हुन आह्वान गर्नुभयो। उहाँले विदेशमा कार्यरत नेपाली जनशक्तिलाई स्वदेश फिर्ता गर्ने उपयुक्त वातावरण बनाएर नेपालको स्वास्थ्य प्रणाली बलियो बनाउनेबारे छलफल गरिने जनाउनुभयो।

सम्मेलनलाई दुई दिनको छलफलमा मात्र सीमित नराखी भिजिटिङ फ्याकल्टी कार्यक्रम, विशेषज्ञ तालिम, अनुसन्धान सहकार्य, अस्पताल तथा विश्वविद्यालयबिच साझेदारी, मेन्टरसिप, डिजिटल हेल्थ पहल तथा डायस्पोरा लगानीका अवसर सिर्जना गर्ने दीर्घकालीन योजना अघि बढाइने उहाँको भनाइ छ।

ग्लोबल हेल्थ कन्फरेन्स वैज्ञानिक समितिका अध्यक्ष प्रा. डा. पदम सिम्खडाले सम्मेलनमार्फत विश्वभर रहेका नेपाली स्वास्थ्य विज्ञ र नेपालको स्वास्थ्य क्षेत्रबिच दीर्घकालीन सहकार्यको आधार तयार हुने अपेक्षा व्यक्त गर्नुभयो। सम्मेलनमा प्रख्यात जनस्वास्थ्यविद् प्रा. जेनी ह्यारिस लगायत ५० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ तथा वैज्ञानिकहरू सहभागी हुने पुष्टि भइसकेको छ।

मधेस प्रदेशका कतिपय स्वास्थ्य सूचकहरू पुरै देशको तुलनामा न्यून रहेकाले तिनलाई कसरी सुधार्न सकिन्छ भन्ने विषयमा पनि विशेष जोड दिइनेछ।

वैज्ञानिक समितिका सह-अध्यक्ष डा. राजीव कुमार साहले जन्मभूमिको सेवा गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो भने स्थानीय आयोजक समितिका अध्यक्ष एवं मधेस इन्स्टिच्युट अफ हेल्थ साइन्सेसका उपकुलपति प्रा. डा. अङ्कुर शाहले सम्मेलनले मधेस प्रदेश र जनकपुर क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विश्व ज्ञान सम्मेलन तथा विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेर संसारभर रहेका नेपाली विज्ञहरूसँग रहेको ज्ञान, सीप र सञ्जाल नेपालको हितमा उपयोग गर्ने प्रयास भइरहेको बताउनुभयो।

यस सम्मेलनले विश्वभर फैलिएको नेपाली स्वास्थ्य जनशक्तिको स्रोतलाई स्वदेशको स्वास्थ्य प्रणालीसँग जोडी सक्षम, समतामूलक र दिगो स्वास्थ्य प्रणाली निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ। अध्यक्ष शर्माले संघले आगामी जनवरी २०२७ मा काठमाडौँमा विश्व ज्ञान सम्मेलन, विश्व महिला सम्मेलन तथा एनआरएन दोस्रो पुस्ता सहभागी सम्मेलन आयोजना गर्न लागेको जानकारीसमेत दिनुभयो।

एनआरएनएका उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले ज्ञान आदानप्रदानका लागि सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो भने एनआरएनए आइसिसीकी सचिव प्रसुना कँडेलले नर्सहरू स्वास्थ्य प्रणालीको मेरुदण्ड भएकाले उनीहरूको सीप विकास र निरन्तर पेसागत उन्नतिका बारेमा पनि छलफल गरिने जनाउनुभयो।

सम्मेलनमा सरकारका प्रतिनिधि, चिकित्सक, नर्स, फार्मासिस्ट, जनस्वास्थ्य विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद्, अन्तर्राष्ट्रिय संघसंस्था, विकास साझेदार र निजी क्षेत्रसमेत गरी झन्डै ३०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।

विदेशमा महत्त्वपूर्ण योगदान दिइरहेका नेपाली स्वास्थ्य विज्ञहरूको सीप र अनुभवलाई नेपालको आवश्यकता तथा प्राथमिकतासँग जोड्ने मुख्य लक्ष्य सम्मेलनले लिएको छ। यसैगरी अन्तर्राष्ट्रिय अस्पताल तथा विश्वविद्यालयबिच सहकार्य स्थापना गर्ने, चिकित्सा शिक्षा, फेलोसिप र विशेषज्ञ तालिम विस्तार गर्ने, अनुसन्धान र नवप्रवर्तनमा सहकार्य बढाउने तथा डिजिटल स्वास्थ्य, टेलिमेडिसिन र प्रविधि हस्तान्तरणलाई प्रवर्द्धन गर्ने विषय प्राथमिकतामा रहनेछन्।

नेपालको स्वास्थ्य क्षेत्रमा डायस्पोरा लगानीलाई प्रोत्साहन गर्ने र मधेस प्रदेशसहित स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रको स्वास्थ्य सेवा सुदृढ गर्ने विषयमा पनि गहन विमर्श हुनेछ।

जनकपुरधामलाई सम्मेलनस्थलका रूपमा छनोट गरिनुलाई निकै महत्त्वपूर्ण मानिएको छ। मधेस प्रदेशको राजधानी तथा सांस्कृतिक र शैक्षिक केन्द्र जनकपुरधामबाट स्वास्थ्य क्षेत्रको अन्तर्राष्ट्रिय सहकार्यलाई काठमाडौँ केन्द्रित सीमाबाट बाहिर विस्तार गर्दै प्रदेश तथा स्थानीय स्वास्थ्य प्रणालीसँग प्रत्यक्ष जोड्ने अवसर सिर्जना हुने विश्वास लिइएको छ।

सम्मेलनले वैदेशिक पलायनलाई उल्ट्याउने र डायस्पोरा संलग्नताका व्यावहारिक उपाय विकास गर्दै विश्वव्यापी स्वास्थ्य सहकार्यका लागि दीर्घकालीन राष्ट्रिय ढाँचा निर्माण गर्ने लक्ष्य राखेको छ।

सम्मेलनको प्रमुख अपेक्षित उपलब्धिमध्ये ‘जनकपुर डिक्लेरेसन अन रिभर्स माइग्रेसन एन्ड ग्लोबल हेल्थ कोल्याबरेसन २०२६’ जारी गर्ने तयारी रहेको छ, जसले आगामी दिनमा सहकार्यका लागि साझा ढाँचा प्रदान गर्नेछ। त्यसैगरी अनुसन्धान, शिक्षा, विशेषज्ञ आदानप्रदान, डिजिटल स्वास्थ्य, मेन्टरसिप र स्वास्थ्य प्रणाली सुदृढीकरणका क्षेत्रमा निरन्तर सहकार्यका लागि ‘जनकपुर ग्लोबल हेल्थ नेटवर्क’ स्थापना गर्ने लक्ष्य पनि राखिएको छ।

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो। यसअघि पहिलो सम्मेलन एटलान्टा (अमेरिका), तेस्रो लन्डन, चौथो सिड्नी र पाँचौँ टोकियोमा भएको थियो भने दोस्रो सम्मेलन कोभिड-१९ महामारीका कारण भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो।