
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोप क्षेत्रबाट केन्द्रीय सदस्य पदका लागि नेपाली जनसम्पर्क समिति आयरल्यान्डका सभापति अंकित वलीले उम्मेदवारी दिने तयारी गरेका छन्।
असोज १८ गते काठमाडौंको खुलामञ्चमा दिउँसो २ बजे उद्घाटन हुने तय भएको महाधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व, संगठन पुनर्संरचना, युवा सहभागिता, वैचारिक पुनर्जागरण र बदलिँदो समयअनुकूल पार्टीलाई अघि बढाउने विषयमा तीव्र बहस भइरहेको छ।
यसै परिवेशमा वलीले प्रवासमा रहेका नेपालीलाई केवल रेमिट्यान्स पठाउने समुदायका रूपमा नहेरी उनीहरूसँग रहेको ज्ञान, सीप, प्रविधि, लगानी, अन्तर्राष्ट्रिय अनुभव, सम्बन्ध र सामाजिक पूँजीलाई नेपालको विकाससँग संस्थागत रूपमा जोड्ने विषयलाई आफ्नो उम्मेदवारीको मुख्य आधार बनाएका छन्।
नेपाल विद्यार्थी संघको इकाई सभापतिबाट राजनीतिक यात्रा सुरु गरी सामाजिक तथा वैचारिक अभियानमा सक्रिय रहेका वली सन् २०१७ मा आयरल्यान्ड पुगेका हुन्। त्यसयता नेपाली समुदायसँग निरन्तर जोडिँदै आएका उनी हाल जनसम्पर्क समिति आयरल्यान्डको सभापतिको जिम्मेवारी सम्हालिरहेका छन्।
“बी.पी.को विचारलाई समयसँग, कांग्रेसलाई पुस्तासँग, डायस्पोरालाई मातृभूमिसँग र राजनीतिलाई जनजीवनसँग जोड्ने” मूल उद्देश्य राखेका वलीले आफ्नो राजनीतिक अनुभवलाई व्यक्तिगत महत्त्वाकांक्षाभन्दा पनि पार्टी, प्रवासी नेपाली र राष्ट्रको हितमा उपयोग गर्ने संकल्प व्यक्त गरेका छन्।
आफ्नो उम्मेदवारीसँगै वलीले विस्तृत प्रतिबद्धता-पत्र पनि सार्वजनिक गरेका छन्। जसअन्तर्गत विश्वभरका नेपाली, जनसम्पर्क समितिहरू, व्यवसायी, युवा, महिला, बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूलाई समेटेर दीर्घकालीन राष्ट्रिय अभियानका रूपमा “Diaspora for Nepal” को अवधारणा अघि सारिएको छ।
साथै युवालाई केवल कार्यकर्ताका रूपमा मात्र नभई नीति निर्माण र नेतृत्व प्रक्रियाका सक्रिय साझेदार बनाउने, बी.पी. कोइरालाको राष्ट्रियता, लोकतन्त्र र समाजवादको विचारलाई समकालीन आवश्यकता र नयाँ पुस्ताको आकांक्षा अनुकूल ढाल्ने तथा लोकतन्त्रलाई सुशासन, पारदर्शिता र जनजीवनसँग जोड्ने उनका प्रमुख एजेन्डा रहेका छन्।
यसका साथै शिक्षा, रोजगारी, उद्यमशीलता र राज्यका अवसरहरूमा समान पहुँच पुर्याउँदै सामाजिक न्याय कायम गर्ने, डायस्पोराको सीप र पूँजीलाई नेपालमा प्रविधि हस्तान्तरण तथा economic development मा परिचालन गर्ने र विश्वभरका जनसम्पर्क समितिहरूसँगको समन्वयलाई थप संस्थागत बनाउने प्रतिबद्धता उनले जनाएका छन्।
“जहाँ नेपाली, त्यहाँ नेपालको शक्ति; जहाँ ज्ञान र सीप, त्यहाँ राष्ट्र निर्माणको सम्भावना” भन्ने नाराका साथ उनले बदलिँदो समयसँगै कांग्रेसको समावेशी र पुस्तान्तरणमुखी पुनर्संरचनामार्फत समुन्नत नेपाल निर्माणमा योगदान पुर्याउने दाबी गरेका छन्।









Facebook Comments