नेपाली कांग्रेसका नेता नवराज शिवाकोटीले जनसम्पर्क समिति एसिया तर्फबाट पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले अग्रज नेताहरूको सल्लाह, सुझाव र मार्गदर्शनलाई आत्मसात् गर्दै नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यसहित उम्मेदवारी दिने निर्णय गरेको बताएका छन्।

शिवाकोटीले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु गरी नेपाल तरुण दल र नेपाली जनसम्पर्क समितिमार्फत अघि बढेको उल्लेख गर्दै अब पार्टीको केन्द्रीय तहमा रहेर सक्रिय भूमिका निर्वाह गर्ने संकल्प व्यक्त गरेका छन्।

ad

उम्मेदवारी घोषणा गर्दै उनले यो निर्णय व्यक्तिगत आकाङ्क्षामा मात्र सीमित नभई लामो समयदेखि पार्टी संगठनमा आबद्ध भएर गरेको योगदान, प्राप्त अनुभव र जिम्मेवारीप्रतिको प्रतिबद्धताको निरन्तरता भएको बताएका छन्।

उनले नेपाली कांग्रेसका आदरणीय अग्रज नेताहरू, समकालीन साथीहरू, शुभेच्छुक तथा महाधिवेशन प्रतिनिधिहरूसँग सल्लाह, सुझाव, सहयोग र साथको अपेक्षा समेत गरेका छन्।

शिवाकोटीले संगठनलाई थप सुदृढ बनाउने, पार्टीभित्र एकता कायम गर्ने तथा परिवर्तनशील समयअनुसार कांग्रेसलाई थप सशक्त बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन्।

“संगठनको सुदृढीकरण, पार्टीको एकता र परिवर्तनशील समयअनुसारको सशक्त कांग्रेस निर्माणका लागि मेरो प्रतिबद्धता रहनेछ,” उनले आफ्नो उम्मेदवारी घोषणामा भनेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहमा अधिवेशन तथा प्रतिनिधि छनोटको प्रक्रिया अघि बढिरहेको छ।