नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विदेशस्थित जनसम्पर्क समिति र महाधिवेशन प्रतिनिधिहरू माझ चुनावी सरगर्मी बढेको छ।

यसै क्रममा नेपाली जनसम्पर्क समिति स्पेनका पूर्व अध्यक्ष एवं अनुभवी सामाजिक-राजनीतिक व्यक्तित्व इन्द्र प्रसाद शर्माले युरोप क्षेत्रबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा आधिकारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

ad

लामो समयदेखि स्पेनमा रहेर नेपाली कांग्रेसको विचार र सिद्धान्तलाई प्रवासमा विस्तार गर्न, नेपाली जनसम्पर्क समितिलाई नेतृत्व प्रदान गर्न तथा युरोपस्थित नेपाली समुदायको सुख-दुःखमा अग्रपंक्तिमा रहेर योगदान पुर्‍याउँदै आएका शर्माले प्रवासमा रहेका नेपालीहरूको हक-हित, संगठनको सुदृढीकरण र मातृभूमिको समृद्धिमा ऐक्यबद्धता जनाउन केन्द्रीय नेतृत्वमा आफ्नो सशक्त दाबी पेस गरेका हुन् ।

नेपाली जनसम्पर्क समिति स्पेनको पूर्व अध्यक्षका रूपमा सफल कार्यकाल सम्हालि सकेका शर्मा स्पेन र समग्र युरोपका नेपालीहरूमाझ एक सरल र निष्ठावान् नेताका रूपमा परिचित रहेको जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष चिन्तामणी सापकोटाले जानकारी दिए ।

उम्मेदवारी दर्तासँगै उनले संगठनलाई अझ बलियो, गतिशील र प्रविधिमैत्री बनाउँदै निरन्तर सक्रिय रहने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । युरोपमा रहेका नेपाली श्रमिक, व्यवसायी तथा विद्यार्थीहरूका बहुआयामिक समस्याहरूलाई पार्टीको केन्द्रीय तह र सरकारसम्म पुर्‍याएर नीतिगत समाधान खोज्ने, युवा तथा बौद्धिक वर्गलाई लोकतान्त्रिक विचारमा गोलबन्द गर्ने र प्रवासको ज्ञान, पुँजी तथा प्रविधिलाई नेपालको विकाससँग जोड्ने मुख्य एजेन्डा उनले अघि सारेका छन् ।