काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मध्यपूर्व क्षेत्रबाट भुवानी प्रसाद तिमिल्सिनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। पार्टीको विशेष विधान परिमार्जनमार्फत विदेशमा बस्ने नेपालीहरूका लागि क्षेत्रगत (रिजन वाइज) ६ जना र १ जना महिला गरी ७ जना केन्द्रीय सदस्यको व्यवस्था गरेपछि तिमिल्सिनाले मध्यपूर्वबाट आफ्नो दाबी पेस गरेका हुन्। १३औँ महाधिवेशन प्रतिनिधि र १४औँ महाधिवेशनमा महासमिति सदस्य रहेका उनले विगतमा भोट हाल्ने अवसर मात्र पाएकामा विधानको नयाँ व्यवस्थासँगै पहिलो पटक केन्द्रीय उम्मेदवार बन्न पाउँदा खुशी व्यक्त गरेका छन्।

मध्यपूर्वमा २५ वर्षदेखि श्रम गर्दै आएका तिमिल्सिनाले त्यहाँका श्रमजीवी नेपालीहरूले हासिल गरेको सीप र प्राविधिक ज्ञानलाई नेपालको विकाससँग जोड्ने संकल्प लिएका छन्। वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण (रेमिट्यान्स) लाई मात्र हेर्ने तर श्रमजीवीका वास्तविक एजेन्डा र समस्यालाई राज्यले ओझेलमा पार्ने परिपाटी अन्त्य गर्न आफू चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ।
 
प्रवासी नेपालीका मुद्दालाई नेपाली कांग्रेसको केन्द्रीय नीति निर्माण तहसम्म पुर्‍याउनका लागि उनले यस पटक नेतृत्व वर्ग र विशेष गरी आदरणीय सभापति गगन थापालगायत सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै साथ र समर्थनको अपिल गरेका छन्।

तिमिल्सिनाले नेपाली कांग्रेसलाई हरेक कालखण्डमा आन्दोलनको नेतृत्व गर्दै देशमा युगान्तकारी परिवर्तन ल्याएको ऐतिहासिक र विशाल पार्टीका रूपमा व्याख्या गरेका छन्।
 
विगतमा कमजोर संसदीय उपस्थिति (१९ वा २१ सिट) रहेका बेला पनि फेरि पुनर्जागरण भएर संविधान निर्माणको नेतृत्व गरेको इतिहास स्मरण गराउँदै उनले कांग्रेस पुनरागमनको सामर्थ्य बोकेको पार्टी भएको बताएका छन्। आम जनतामा नयाँ राजनीतिक दलहरूप्रति आकर्षण देखिए पनि अहिले महाधिवेशनमा उर्लिएको युवा र 'जेन्जी' हरूको उत्साहजनक सहभागिताले नेपाली कांग्रेस आगामी चुनावमा फेरि स्पष्ट बहुमतका साथ उठेर आउने बलियो आधार तयार भइसकेको दाबी उनले गरेका छन्।

ad