
नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको सरगर्मी बढेसँगै पार्टीका विभिन्न पदका लागि आकाङ्क्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ।
यसै क्रममा "राष्ट्रियता, लोकतन्त्र र समाजवाद" को मूल आदर्शलाई आत्मसात् गर्दै नारायण प्रसाद सुवेदीले एसिया प्यासिफिक क्षेत्रबाट नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। "एकता, समृद्धि र सबल नेपाली काँग्रेस" भन्ने मुख्य नाराका साथ चुनावी मैदानमा उत्रिएका सुवेदीले प्रवासमा रहेका नेपालीहरूको आवाजलाई पार्टीको नीति निर्माण तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
शङ्करदेव क्याम्पस (त्रिभुवन विश्वविद्यालय) बाट वित्त (Finance) विषयमा स्नातकोत्तर (MBA) गरेका सुवेदीसँग पार्टी सङ्गठन र प्रवासको राजनीतिमा लामो तथा सबल अनुभव रहेको छ। उनी नेपाली जनसम्पर्क समिति जापानका सभापति तथा नेपाली जनसम्पर्क समन्वय समितिका केन्द्रीय सदस्यका रूपमा कार्यरत भइसकेका छन्।
यसका साथै नेपाली काँग्रेसको १३ औँ, १४ औँ र १५ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यको जिम्मेवारी सम्हालिसकेका सुवेदी पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको केन्द्रीय सदस्यसमेत रहिसकेका छन्।
आफ्नो उम्मेदवारीसँगै सुवेदीले प्रवासमा रहेका नेपाली काँग्रेसका कार्यकर्ता र जनसम्पर्क समितिलाई पार्टीको मूलधारसँग अझ मजबुत रूपमा जोड्ने मुख्य अजेन्डा अघि सारेका छन्। डायस्पोरामा बसोबास गर्ने नेपाली समुदायका समस्या, भावना र अपेक्षालाई केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्याउने, जनसम्पर्क समितिहरूबिच समन्वय र सहकार्य सुदृढ गर्ने तथा नयाँ पुस्ता, महिला र सक्रिय कार्यकर्ताको नेतृत्व विकासमा प्रोत्साहन गर्ने उहाँका प्रमुख प्रतिबद्धता रहेका छन्।
यसका साथै प्रवासी नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालको लोकतान्त्रिक तथा समृद्धिको यात्रासँग जोड्दै पार्टीको नीति र विचारलाई प्रवासमा अझ प्रभावकारी रूपमा विस्तार गर्ने लक्ष्य उनले लिएका छन् ।









Facebook Comments