काठमाडौं ।मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ। बुधबार बसेको समितिको बैठकले खरेलको नाम सर्वसम्मत रूपमा अनुमोदन नगर्ने निर्णय गरेको हो।

बुधबार नै खरेलको संसदीय सुनुवाइ गरिएको थियो। सुनुवाइका क्रममा उनको नियुक्तिसम्बन्धी विषयमा प्रश्न उठेका थिए। निर्णय प्रक्रियामा सहभागी सांसदहरूले उनलाई राजदूतमा नियुक्त गर्न उपयुक्त नहुने धारणा राखेका थिए।

ad

खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ तथा योग्यतासम्बन्धी विषयमा प्रश्न उठेको थियो। यिनै विषयलाई लिएर उनको प्रस्तावित नियुक्तिबारे समितिमा छलफल भएको थियो।

यसैबीच, साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ।

राजदूत नियुक्तिका लागि सरकारले सिफारिस गरेका व्यक्तिहरूको योग्यता, पृष्ठभूमि र उपयुक्ततामाथि संसदीय सुनुवाइ गर्ने क्रममा समितिले दुवै प्रस्तावित राजदूतको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो।