
काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि लगाइएका आरोपहरू निराधार रहेको दाबी गरेका छन्। संसदीय सुनुवाइका क्रममा बुधबार समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आफूमाथि लगाइएका आरोपमा कुनै सत्यता नभएको बताएका हुन्।
संसदीय सुनुवाइ समितिको बैठकमा सुनारमाथि महिला हिंसा, आर्थिक लेनदेन तथा जर्मनीबाट निष्कासन गरिएको भनिएको विषयलगायतका प्रश्न उठेका थिए। ती विषयमा स्पष्टीकरण दिँदै उनले आरोपहरूको खण्डन गरेका हुन्।
सुनारका अनुसार करिब १३ वर्षअघि एक महिलासँग प्रेम सम्बन्ध रहेको र त्यस क्रममा विवाद भएपछि ललितपुर प्रहरी कार्यालयमा दुवै पक्षबीच मिलापत्र भएको थियो। फोनमा भएको कुराकानीलाई आधार बनाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको उनको दाबी छ।
आफूविरुद्ध पावर अफ एटर्नी लिएर अर्कै व्यक्तिले निरन्तर मुद्दा हाल्ने गरेको पनि उनले समितिमा बताएका छन्। सुनारले आफ्नो नाममा हालसम्म कुनै उजुरी दर्ता नभएको र कुनै पनि फौजदारी कसुरमा दोषी ठहर नभएको दाबी गरे।
सरुवा तथा बढुवामा ठूलो आर्थिक चलखेल गरेको भन्ने आरोपबारे पनि उनले आपत्ति जनाएका छन्। त्यस्ता आरोपको कुनै आधिकारिक पुष्टि नभएको भन्दै उनले ती पूर्णतः आधारहीन रहेको जिकिर गरे।
यसैगरी, आफूलाई जर्मनीबाट निष्कासन गरिएको भन्ने विषयमा समेत सत्यता नरहेको सुनारले स्पष्ट पारे।
साउदी अरेबियाका लागि प्रस्तावित राजदूतका रूपमा सुनारको नाममाथि संसदीय सुनुवाइ भइरहेका बेला समितिमा उठेका प्रश्न र उनले दिएको जवाफले उनको नियुक्ति प्रक्रियालाई चासोको विषय बनाएको छ।








Facebook Comments