
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच बुधबार भारतको नयाँदिल्लीमा भेटवार्ता भएको छ। बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत पुगेका गुरुङले स्वदेश फर्कनुअघि भारतीय विदेशमन्त्रीसँग भेट गरेका हुन्।
विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत गृहमन्त्री गुरुङसँगको भेटबारे जानकारी दिएका छन्। तर, भेटका क्रममा भएका छलफल तथा सहमतिका विषयमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
नेपालका प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणबारे चर्चा भइरहेका बेला भएको यस भेटलाई दुई देशबीचको सम्बन्धका सन्दर्भमा चासोका साथ हेरिएको छ। भेटमा क्षेत्रीय सुरक्षा, सीमा व्यवस्थापन, अन्तर्देशीय अपराध नियन्त्रण तथा विपद् पूर्वतयारीलगायतका विषयमा सहकार्य सुदृढ गर्नेबारे छलफल भएको जनाइएको छ।
यसैगरी, गृहमन्त्री गुरुङले नेपालमा हालै आएको बाढी तथा पहिरोपछि भारतले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्।
तीनदिने भारत भ्रमण पूरा गरेका गृहमन्त्री गुरुङ बुधबार साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ।








Facebook Comments