काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको रकम अपचलन तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा व्यवसायी दीपक भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीकी तत्कालीन प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सम्पत्ति शुद्धीकरण निवारण ऐन, बीमा ऐन तथा प्रचलित फौजदारी कानुनअनुसार अभियोगपत्र दायर गरेको हो। अभियोगपत्रमा प्रतिवादीबाट २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो कायम गरी असुल, त्यसको दोब्बर जरिवाना, कैद तथा सम्पत्ति जफत गर्न माग गरिएको छ।

ad

अभियोगपत्रअनुसार भट्टमाथि हिमालयन रि–इन्स्योरेन्सलाई आर्थिक क्षति पुर्‍याएको तथा अपराधबाट प्राप्त रकमलाई विभिन्न कारोबारमार्फत वैध बनाउने प्रयास गरेको आरोप छ। व्यक्तिगत लाभका रूपमा प्रयोग गरिएको रकमतर्फ भने २१ करोड १५ लाख रुपैयाँ छुट्टै बिगो कायम गरी सजाय माग गरिएको छ।

सञ्चालकमाथि फर्जी कारोबार अनुमोदन गरेको आरोप
कम्पनीका तत्कालीन अध्यक्ष शेखर गोल्छासहित सञ्चालक समिति सदस्यहरू रोहित गुप्ता, साहिल अग्रवाल, अमित मोर, सुभाष कुमार झुनझुनवाला, शुभेच्छा खरेल, राजिव मोर र साक्षी बंसल गोयलविरुद्ध फर्जी कारोबारलाई बोर्डबाट अनुमोदन गरी रकम अपचलनमा सहयोग गरेको आरोप लगाइएको छ।

अभियोगपत्रमा हुँदै नभएको ब्रोकर खर्चलाई वित्तीय विवरणमा समावेश गरी कम्पनीको रकम दुरुपयोग गर्न स्वीकृति दिएको उल्लेख छ। उनीहरूविरुद्ध पनि २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो कायम गरिएको छ।

सीईओसहितका पदाधिकारीमाथि पनि अभियोग
हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सीईओ चन्द्रशेखरन रामामूर्ति, तत्कालीन सीईओ उपासना पौडेल र कार्यकारी निर्देशक मनिष कुमारमाथि ‘एलियन्ट इन्स्योरेन्स ब्रोकर्स’लाई पर्याप्त आधारबिना २८ करोड रुपैयाँ पेस्की दिएको आरोप लगाइएको छ।

अनुसन्धानका क्रममा उक्त रकममध्ये २३ करोड ९२ लाखभन्दा बढी रकम नक्कली कागजातमार्फत खर्च देखाएर फर्छ्यौट गरिएको दाबी अभियोगपत्रमा गरिएको छ।

तत्कालीन बीमा प्राधिकरण अध्यक्ष सिलवाल पनि प्रतिवादी
नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालमाथि कानुनी मापदण्ड पूरा नगरेको कम्पनीलाई ब्रोकरको इजाजत दिलाउन भूमिका खेलेको आरोप लगाइएको छ।

अभियोगपत्रमा पुनर्बिमा दलाल निर्देशिका, २०७८ विपरीत ‘एलियन्ट इन्स्योरेन्स ब्रोकर्स’लाई इजाजत दिएर आर्थिक अपराधमा सहयोग गरेको दाबी गरिएको छ। सिलवालविरुद्ध २ करोड ४० लाख रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवाना माग गरिएको छ।

२८ करोडको पेस्कीबाट फर्जी कारोबार भएको दाबी
अनुसन्धानअनुसार भट्टको मुख्य सेयर स्वामित्व रहेको हिमालयन रि–इन्स्योरेन्सबाट ‘प्राविधिक तथा लजिस्टिक सपोर्ट’ शीर्षकमा एलियन्ट इन्स्योरेन्स ब्रोकर्सलाई विभिन्न मितिमा २८ करोड रुपैयाँ पेस्की दिइएको थियो।

त्यसमध्ये ४ करोड रुपैयाँ फिर्ता भएको देखाइएको र बाँकी रकममध्ये २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बराबरको खर्च फर्जी कागजातका आधारमा फर्छ्यौट गरिएको सरकारी वकिलको दाबी छ।

हिमालयन रिले २० वटा जीवन बीमा कम्पनीको पुनर्बीमा व्यवसाय एलियन्टमार्फत आएको भन्दै ब्रोकर कमिसन खर्च देखाएको थियो। तर अनुसन्धानका क्रममा ती कम्पनीका प्रमुखहरूले एलियन्टसँग कुनै सम्झौता नगरेको र ब्रोकर प्रयोग नगरेको लिखित बयान दिएको अभियोगपत्रमा उल्लेख छ।

रकम विभिन्न खातामार्फत स्थानान्तरण भएको दाबी
अभियोगपत्रमा फर्जी खर्च देखाएर समायोजन गरिएको रकमलाई विभिन्न चरणमा स्थानान्तरण गरी वैध देखाउने प्रयास भएको उल्लेख छ। एलियन्टले रकमलाई आम्दानीका रूपमा देखाएर कर तिरेपछि लाभांशका रूपमा अन्जना नेपाललाई रकम वितरण गरिएको अनुसन्धानबाट खुलेको दाबी गरिएको छ।

त्यसपछि अन्जना नेपालको बैंक खाताबाट भट्टकी पत्नी आयुष्मा नेपाल भट्टको खातामा २१ करोड १५ लाख रुपैयाँ स्थानान्तरण भएको र त्यहाँबाट उक्त रकम भट्टको व्यक्तिगत खातामा पुगेको अभियोगपत्रमा उल्लेख छ।

भट्टले सो रकममध्ये केही बैंक ऋण तथा अन्य दायित्व भुक्तानीमा प्रयोग गरी शंकरलाल अग्रवाल, साहिल अग्रवाल र जगदम्बा स्टिललगायतका खातामा पठाएको अनुसन्धानबाट खुलेको सरकारी वकिलको दाबी छ।