
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना सानेपास्थित केन्द्रीय कार्यालयमा तीव्र पारिएको छ। निर्वाचन समितिले गणनालाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न एकैपटक २३ स्थानमा मतगणना गरिरहेको छ।
सभापतिसहित प्रमुख पदाधिकारीहरूको मतगणना सम्पन्न भएपछि सहमहामन्त्री तथा विभिन्न समावेशी समूहअन्तर्गतका केन्द्रीय सदस्य पदको मतगणनामा केन्द्रित भएको निर्वाचन समितिले जनाएको छ। समितिका सदस्य सचिव राजु कटुवालका अनुसार ७ हजार ३९ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेका मतपत्रको गणना भइरहेको छ।
कुन पदको मतगणना कहाँ हुँदैछ?
निर्वाचन समितिले उम्मेदवारको सङ्ख्या र पदअनुसार छुट्टाछुट्टै समूह बनाएर मतगणना अघि बढाएको छ। कटुवालका अनुसार खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्य पदको मतगणना पाँच स्थानमा भइरहेको छ।
प्रवासस्थित नेपाली जनसम्पर्क समितिअन्तर्गतका पदको मतगणनाका लागि नौ स्थान छुट्याइएको छ। त्यस्तै, आदिवासी जनजाति सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य पदको मतगणना तीन स्थानमा जारी छ।
सुदूरपश्चिम प्रदेशअन्तर्गत खुला, महिला र ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदको मतगणना चार स्थानमा भइरहेको छ। पिछडिएको क्षेत्रअन्तर्गत सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र खुला महिला केन्द्रीय सदस्य पदका लागि दुई स्थानमा मतगणना सञ्चालन गरिएको कटुवालले जानकारी दिए।
बुधबारसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य
निर्वाचन समितिले बुधबारसम्म सबै पदको अन्तिम नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित मतगणनालाई गति दिएको छ। मतगणना स्थल र जनशक्तिको व्यवस्थापनमार्फत निर्धारित समयभित्र परिणाम सार्वजनिक गर्ने प्रयास भइरहेको समितिका सदस्य सचिव कटुवालले बताए।
यसअघिको महाधिवेशनमा करिब तीन हजार मतदाताको मतगणना गर्न १२ दिन लागेको स्मरण गराउँदै कटुवालले यसपटक भने त्यति लामो समय नलाग्ने दाबी गरेका छन्।
धेरै मतदाता र विभिन्न पदका उम्मेदवार रहेको अवस्थामा २३ स्थानमा एकसाथ भइरहेको मतगणनाले अन्तिम परिणाम सार्वजनिक गर्ने समयलाई छोट्याउने निर्वाचन समितिको अपेक्षा छ।









Facebook Comments