
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित हुने निश्चित भएको छ। सभापतिका प्रतिस्पर्धी किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी फिर्ता लिएपछि थापाको एकल उम्मेदवारी कायम भएको हो।
राठौरले बुधबार पत्रकार सम्मेलनमार्फत पार्टी कठिन परिस्थितिबाट गुज्रिरहेका बेला विभाजनभन्दा सहकार्य आवश्यक रहेको भन्दै थापाको आग्रहपछि उम्मेदवारी फिर्ता लिएको बताए। निर्वाचन समितिका अनुसार खड्गीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
सभापतिमा तीन जनाको उम्मेदवारी परेकोमा दुई जनाले फिर्ता लिएपछि थापा निर्विरोध भएका हुन्। निर्वाचन समितिले औपचारिक घोषणा गरेपछि उनको निर्विरोध निर्वाचनले कानुनी रूपमा पूर्णता पाउनेछ।
वरिष्ठ र महिला उपसभापतिमा पनि प्रतिस्पर्धा नहुने
महाधिवेशनमा वरिष्ठ उपसभापति र महिला उपसभापति पदमा पनि एक–एक जनाको मात्र उम्मेदवारी परेको छ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको मात्र उम्मेदवारी रहेकाले दुवै पदमा निर्विरोध निर्वाचन हुने भएको हो। निर्वाचन समितिले औपचारिक घोषणा गरेपछि उनीहरूको निर्वाचनले पनि पूर्णता पाउनेछ।
खुला उपसभापतिका दुई पदका लागि भने नौ जना प्रतिस्पर्धामा छन्। डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधुप्रसाद आचार्य, डा. मीनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव चुनावी मैदानमा छन्।
समावेशी उपसभापतितर्फ जीवन परियार, विनोद चौधरी, फरमुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णबीच प्रतिस्पर्धा हुनेछ।
महामन्त्रीमा खुलातर्फ आठ, महिलामा तीनजना प्रतिस्पर्धामा
खुलातर्फका दुई महामन्त्री पदका लागि आठ जना उम्मेदवार चुनावी मैदानमा छन्। प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिलकुमार शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन्।
महिला महामन्त्रीका लागि डा. डिला संग्रौला, महालक्ष्मी उपाध्याय ‘डिना’ र रिता खनालबीच प्रतिस्पर्धा हुने भएको छ।
सहमहामन्त्रीका विभिन्न समावेशी क्लस्टरमा पनि उम्मेदवारी परेको छ। खुला, महिला, खस–आर्य, पिछडिएको क्षेत्र, आदिवासी जनजाति, थारू, दलित, मधेसी, मुस्लिम र अल्पसंख्यकलगायत समूहबाट उम्मेदवार चुनावी मैदानमा छन्।
२९७ सदस्यीय केन्द्रीय कार्यसमिति
कांग्रेसले संशोधित विधानअनुसार यसपटक केन्द्रीय कार्यसमितिको आकार बढाएको छ। यसअघि १६७ सदस्यीय रहेको केन्द्रीय समिति अब २९७ सदस्यीय बनाइएको छ। पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्याइएको छ।
नयाँ संरचनामा सभापतिसँगै एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता र एक सहप्रवक्ताको व्यवस्था गरिएको छ।
वरिष्ठ उपसभापति सभापतिपछिको वरीयतामा रहनेछन्। चार उपसभापतिमध्ये एक पद महिलाका लागि अनिवार्य गरिएको छ भने तीन महामन्त्रीमध्ये एक महिला हुनुपर्ने व्यवस्था छ। सहमहामन्त्रीको संख्या पनि आठबाट बढाएर १५ पुर्याइएको छ।
केन्द्रीय सदस्यतर्फ खुला र महिला खुलासहित विभिन्न प्रदेश तथा समावेशी समूहका लागि छुट्टाछुट्टै प्रतिनिधित्वको व्यवस्था गरिएको छ। केन्द्रीय कार्यसमितिले ६६ जना सदस्य मनोनयन गर्न सक्ने प्रावधानसमेत विधानमा राखिएको छ।
यसपटक कांग्रेसको नयाँ नेतृत्व चयनमा ७ हजार ११४ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।









Facebook Comments