काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पद (खुलातर्फ) का लागि वरिष्ठ पत्रकार एवम् नेता कबिर राणाले आफ्नो मनोनयन दर्ता गराएका छन्। पार्टी केन्द्रीय निर्वाचन समितिमा उनले दर्ता नम्बर १३ मार्फत औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।

करिब चार दशक लामो राजनीतिक यात्रा तथा साढे तीन दशकभन्दा बढीको पत्रकारिता अनुभव बोकेका राणाले आफ्नो अनुभवलाई पार्टीको केन्द्रीय नीति निर्माण र साङ्गठनिक सुदृढीकरणमा उपयोग गर्ने उद्देश्यका साथ खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। उनी देशान्तर मिडिया प्रा.लिका कार्यकारी अध्यक्ष एवम् प्रधानसम्पादकसमेत हुन्।

ad

राणाको उम्मेदवारी मनोनयन पत्रमा प्रस्तावकका रूपमा अच्युत प्रसाद मिश्र, सङ्गीता थापा र दिपेन्द्र कुमार थापामगर रहेका छन्। त्यसैगरी समर्थकहरूमा दिपेन्द्र चौहान, देवेन्द्र न्यौपाने र लक्षुराम न्यौपाने रहेका छन्। वि.सं. २०३६ को विद्यार्थी आन्दोलनदेखि राजनीतिमा सक्रिय रहँदै आएका राणाले प्रजातान्त्रिक आन्दोलनका क्रममा जेल जीवनसमेत बिताइसकेका छन्। पार्टीलाई वैचारिक रूपमा स्पष्ट र साङ्गठनिक रूपमा सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको राणाले बताएका छन्।